नेपाल प्रिमियर लिग एनपिएलमा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९।२ ओभरमा ८५ रनमा अल आउट भयो ।
लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए । उनले २९ बलमा २ चौका प्रहार गरे । उन्मुक्त चन्दले १९ बलमा १३ रनमा कप्तान करण केसीको बलमा आउट भए । सुर्य तामाङ ११ रन जोड्दै नट आउट रहे । कप्तान रोहित पौडेल ८, टम मुर्स ६ तथा ओपनर आशुतोष घिरैया ४ रनमा आउट भए । काठमाडौंका लागि कप्तान करण केसीले ४, दीपेश कंडेलले ३ तथा जेहार्ड एरास्मसले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भएको थियो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । भीमले ४० बलमा १ चौका प्रहार गरेका थिए । भीम अभिषेस गौतमको बलमा आउट भएका हुन् ।
१३औं ओभरको पाँचौ बलमा भीमले जीवनदान पाए । भीमलाई बलर विवेक यादवले रन आउट गराउन चुके । त्यो समयमा भीम २४ रन बनाएर खेलिरहेका थिए । ड्यान ड्वाथवेट २१ रन बनाएर आउट भए । २४ बलको सामना गरेका ड्याथवेट विवेकको बलमा कप्तान रोहित पौडेलबाट क्याच भएका थिए । प्रतिक श्रेष्ठले १४ बलमा २ छक्काको सहयोगमा २० रन बनाउँदै आउट भए ।
काठमाडौंका लागि पहिलो विकेटका रुपमा माइकल लेभिट रनको खाता नखोली आउट भए । लेभिट रेमन सिमोण्डसको बलमा बोल्ड आउट भए । दोस्रो विकेटका रुपमा स्टेफन स्केनाजी १३ रनमा आउट भए । स्केनाजी १६ बलको सामना गर्दै अभिषेस गौतमको बलमा आउट भए ।
काठमाडौंले तेस्रो विकेटका रुपमा जेहार्ड एरास्मस १ रन बनाउदै आउट भए । एरास्मस ४ बल खेल्दै साद विन जाफरको बलमा आउट भए । एनपिएलमा खास चल्न नसकेका एरास्मसले ४ खेलमा सर्वाधिक ३८ रन बनाएका छन् । उनले चितवन राइनोजसँग ४, कर्णाली याक्सविरुद्ध ३८ तथा सुदूरपश्चिम रोयल्ससँगको खेलमा १० रन जोडेका छन् ।
सातौं विकेटका रुपमा काठमाडौंका कप्तान करण केसी सूर्य तामाङको बलमा आउट भए । लुम्बिनीका लागि साद विन जाफरले ३ तथा अभिशेष गौतम र रेमन सिमण्डसले समान २ विकेट लिए ।