काठमाण्डौ । एसीसी १९ वर्षमुनिको महिला एशिया कपको दोस्रो ’सुपर–फोर’ मा नेपालले बङ्गलादेशलाई ५५ रनको लक्ष्य दिएको छ ।मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनायो । नेपालकी सावित्री धामीले ११, कप्तान पूजा महतो ९, एलिशा यादवले ८ रन बनाए । नेपालका चार जना खेलाडी रन आउट भए । बङ्गलादेशकी फर्जना इम्सिन, अनिसा अख्तेर, फहोमिदा चोया र हबिबा इस्लामले १ १ विकेट लिए ।
यसअघि हिजोको पहिलो ‘सुपर–फोर’ नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । यो खेलमा नेपालले बङ्गलादेशलाई हराएमा फाइनलमा पुग्नेछ । यदि यो खेल नतिजाविहीन भएमा नेट रन रेटमा अघि रहँदै बङ्गलादेश फाइनलमा पुग्नेछ ।
यस्तै ‘सुपर–फोर’ बाट भारत फाइनलमा पुगेको छ । आज बिहान भएको खेलमा श्रीलङ्कालाई हराउँदै भारत फाइनलमा पुगेको हो । प्रतियोगिताको समूह ’ए’ बाट भारत र नेपाल तथा समूह ’बी’ बाट बङ्गलादेश र श्रीलङ्का ’सुपर–फोर’ मा पुगेका हुन् । फाइनल खेल पर्सि आइतवार हुनेछ ।