काठमाडौं । आइतबारबाट नेपालमा साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप सुरु हुँदै छ ।
नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलङ्कासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्दै छ । दशरथ रङ्गशाला खेल्न योग्य नभएपछि आयोजक एन्फाले अन्तिम समय खेल स्थल सारेको हो । च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्यका साथ नेपाली टोली पनि तयारी अवस्थामा छ ।
डिफेन्डिङ च्याम्पियन भारत र बङ्गलादेश उपाधि जित्ने दाउमा मैदानमा उत्रने छन् । नेपालका प्रशिक्षक उर्जन श्रेष्ठ र कप्तान कुशल देउवा पनि घरेलु समर्थकको साथमा उच्च मनोबलका साथ खेल्दै उपाधि घरमा नै सुरक्षित राख्ने बताउँछन् ।
समूह ‘ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का छन् । अर्को समूहमा साबिक विजेता भारत, मालदिभ्स र भुटान छन् । यी टोलीमध्ये डिफेन्डिङ च्याम्पियन भारतले उपाधि रक्षा गर्ने योजना बनाएको छ भने बङ्गलादेश पनि उपाधि लिएर जाने लक्ष्यमा छ ।
भारतको समूहमा रहेको मालदिभ्सले पनि फाइनलमा पुग्ने लक्ष्यमा राखेको छ । त्यसका लागि आफ्नो टोली राम्रो तयारी गरेको मालदिभ्सको विश्वास छ । भुटानको टोलीमा अहिले एकेडेमीबाट मात्र खेलाडी आएका छैनन् । क्लब र विभिन्न क्याम्पबाट छनोट गरेर टोली तयार पारेको भुटानको भनाइ छ ।
नेपालले यु–२० पुरुष टोली घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमा राख्ने लक्ष्य लिँदै तयारी गरेको छ । नेपालले उद्घाटन खेलमा आइतबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल जित्दै नेपाल आफूलाई दाबेदारको रूपमा उभ्याउन चाहन्छ ।