images

आवश्यकताअनुसार संविधान संशोधन सरकारको कर्तव्य हो: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको बताएका छन् ।

कर्णाली प्रदेशसभाको बैठकमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको अवसर प्रदान गरेकाले यसको रक्षा, कार्यान्वयन तथा आवश्यक संशोधन सरकारको कर्तव्य भएको बताएका हुन् ।

उनले वर्तमान सरकार गठन हुँदै गर्दा एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा समावेश गरिएको स्मरण गराउँदै संविधान संशोधन रहर वा लहडमा नभई राष्ट्रिय आवश्यकतालाई हेरेर गरिने उल्लेख गरे।

प्रधानमन्त्री ओलीले कुनै आरोप प्रत्यारोपमा नलागी तीनै तहका सरकरको सहकार्यमा देशको विकास र समृद्धिका लागि जुट्न आह्वान गर्दै नयाँ कार्ययोजनाभन्दा थालिसकेका काम पूरा गर्ने आफ्नो सङ्कल्प रहेको जिकिर गरेका छन् ।