images

इटालीका लेजेण्डरी गोलकिपर बुफोन भन्छन्ः नेपाल आउने सपना पूरा भयो

काठमाडौं । फिफा विश्वकप विजेता तथा इटालीका पूर्वगोलकिपर जियानलुजी बुफोन नेपाल आइपुगेका छन् ।

इटलीका पूर्वकप्तान तथा विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिने बुफोन केपी ओली कप फुटबल प्रतियोगिताको अवसरमा नेपाल आइपुगेका हुन् ।

आयोजक राष्ट्रिय युवा संघ नेपालका अनुसार उनी आइतबार नेपाल आइपुगेका हुन् । उनी बिहान ११ बजे टर्कीस एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका थिए । केपी ओली कपको तेस्रो संस्करण फागुन १९ गतेसम्म हुनेछ । केपी ओली कपको फाइनल खेलमा प्रमुख अतिथिका रूपमा निम्त्याइएका बुफनको यो पहिलो नेपाल भ्रमण हो ।

नेपाल भ्रमणमा आएका बुफोनले आफ्नो सपना पूरा भएको बताएका छन् । नेपालको नक्सा र झण्डाबाट आफू सानैदेखि आकर्षित हुँदै आएको उनको भनाइ छ । उनले त्रिभुवन विमानस्थलमा ओर्लेपश्चात पत्रकारसँग संक्षिप्त अन्तरक्रिया गर्दै नेपाल र नेपालीको प्रशंसा गरे ।

केपी ओली कपको विजेता को बन्छ भनेर हेर्न आफू उत्साहित रहेको उनले बताए । बुफोनलाई एक पत्रकारले रोनाल्डो र मेस्सीमा को मन पर्छ भनेर पनि सोध्न भ्याएका थिए । उनले भने, ‘मेस्सी, रोनाल्डो, म्याराडोना, पेले को उत्कृष्ट हुन् भनेर तुलना गर्नु सही हुँदैन । उनीहरू सबै गज्जबका खेलाडी हुन् । उनीहरूले फुटबलमा ठूलो कथा लेखेका छन् ।’

सन् २००६ को फिफा विश्वकप जितेका बुफोनले कीर्तिमानी १७६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटलीका लागि ८० खेलमा कप्तानी समेत गरेका थिए । बफोनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच विश्वकप खेलेका थिए ।