images

इलाम र बझाङमा आज उपनिर्वाचनः बिहान ७ बजेदेखि मतदान सुरु

काठमाडौं । इलाम र बझाङमा आज उपनिर्वाचन भइरहेको छ ।

इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भइरहेको हो।

यी दुवै स्थानमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारी रुपमा भइरहेको पनि आयोगले जनाएको छ।

आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र निर्धारण गरिएका छन्। इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन्। नेकपा एमालेबाट निर्वाचित सुवास नेम्बाङको निधनपछी यहाँ उपनिर्वाचन हुन लागेको हो।

बझाङ १ (क)  मा कूल ६१ हजार सात सय ४८ मतदाता छन् भने ७४ मतदानस्थल र ९३ मतदान केन्द्र निर्धारण गरिएको छ। बझाङको उपनिर्वाचनमा १२ उम्मेदवार प्रतिस्पर्धामा छन्।  नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रिक्त यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

बझाङमा सत्तारुढ दल नै एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यहाँ ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ।