images

उपविदेशमन्त्री नुल्यान्डको नेपाल भ्रमण : नेपालप्रति अमेरिकी चासो, राजनीतिक वृत्तमा चर्चा

काठमाडौं । अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपालको दुईदिने भ्रमणका लागि नेपाल आएसँगै राजनीतिक वृत्तमा चर्चा शुरु भएको छ ।

नेपालमा चीनको प्रभाव कम गर्न अमेरिकाको सबैभन्दा प्रमुख प्राथमिकता देखिँदै आएको छ । एमसीसी पारित भएसँगै नेपालप्रति अमेरिकाको चासो बढ्दै गएको छ ।

अमेरिकाकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गरिन् । आकस्मिक भएको भ्रमण र पछिल्लो समय नेपालप्रति अमेरिकी चासोले यहाँको राजनीतिक वृत्तमा अनेकथरी चर्चाहरु शुरु भएका छन् । हुनत, नेपाल र अमेरिकाबीचको सम्बन्धको विश्लेषण गर्दा चीनको चर्चा पनि कहिल्यै छुट्दैँन ।

चीन र अमेरिकाबीच हालैका वर्षहरूमा प्रतिस्पर्धा बढिरहँदा त्यसको बाछिटा नेपालसम्म पनि आइपुगेका टिप्पणी हुने गरेका छन् । यस्तोमा हालैका महिनाहरूमा अमेरिकातर्फबाट एकपछि अर्को उच्चस्तरीय भ्रमणहरू नेपालमा भइरहेका छन् ।

तीनजना अमेरिकी राष्ट्रपतिहरू बाइडन, ओबामा र बुशको कार्यकालमा विभिन्न महत्त्वपूर्ण ओहदामा रहेकी राजनीतिक मामिला सम्बन्धी प्रखर अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड दुई दिने भ्रमणका लागि नेपाल आएकी थिइन ।

नुल्याण्डसँग झन्डै साढे तीन दशक लामो कूटनीतिक अनुभव छ । अघिल्लो वर्ष नै नेपालको संसद्ले लामो विवादपछि झन्डै ६० अर्ब रुपियाँ बराबरको अमेरिकी मिलेनिअम च्यालेन्ज सम्झौता (एमसीसी) अनुमोदन गरेको थियो । नुल्याण्डले पनि एमसीसीबारे चर्चा गर्दै नेपालको आर्थिक विकासका लागि अमेरिकाले एमसीसीमार्फत सहयोग गरिरहेको बताइन् ।

भारत र चीनसँग पनि गतिविधि बढाउन अमेरिका प्रयासरत रहेको उल्लेख गर्दै नुल्याण्डले नेपालको हकमा भने स्थीर र सुदृढ सम्बन्धमा जोड रहेको सम्म भनिन् । उपमन्त्री नुल्यान्डले चीनतर्फ संकेत गर्दै छिमेकी मुलुकसँग आर्थिक सहकार्य गर्दा सार्वभौमसत्ता रक्षा गर्ने विषयमा ध्यान दिन सुझाव दिइन् ।

अघिल्लो वर्ष नेपाल र संयुक्त राज्य अमेरिकाले कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्षगाँठ मनाएका थिए र त्यसयता वासिङ्टन डिसीबाट कैयौँ उच्चपदस्थ अधिकारीहरू नेपालको भ्रमणमा आएका छन् । यी भ्रमणलाई विज्ञहरूले दुई शक्तिशाली छिमेकीहरू चीन र भारतबाट घेरिएको नेपालमा बढ्दै गएको अमेरिकी सामरिक स्वार्थका रूपमा व्याख्या गर्दै आएका छन् ।

नुल्याण्डले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतका शीर्ष नेताहरुसँग भेटवार्ता गरेकि थिइन् ।

भेटमा द्विपक्षीय सहयोग, आपसी हित र नेपालमा सन्चालित अमेरिकी सहयोगका कार्यक्रमका विषयमा छलफल भएको थियो । वासिङटनले नयाँ सरकारले कुन तहको महत्व दिन चाहेको छ भनेर बुझ्न खोजेको पनि जानकारहरु बताउँछन् ।

नेपाल र आसपास क्षेत्रमा चीनको बढ्दो चासोका बारेमा अमेरिकाले ध्यान दिइरहेको उपमन्त्री नुल्यान्डको भ्रमणबाट बुझ्न सकिन्छ । यता, नुल्यान्ड फर्केलगत्तै अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन लागेको बताइएको छ ।

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग यूएसएआईडी की प्रमुख सामन्था पावर नेपाल आउने भएकी हुन् ।