काठमाडौं । सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि पाउने दाबी गरेको छ ।
नेपाल–भारतबीच इनरुवा–पूर्णीया र दोदोधारा–बरेली थप दुई वटा चार सय किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरू संयुक्त लगानीमा निर्माण गर्ने सम्बन्धी सम्झौता भएको छ ।
संयुक्त निर्देशक समिति (जेएसी) को १२औँ बैठकमा निर्णय भएको र त्यही निर्णय कार्यान्वयन गर्न हालै नेपाल विद्युत् प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडबीच संयुक्त कम्पनी स्थापनासम्बन्धी ‘ज्वाइन्ट भेन्चर’ र ‘सेयरहोल्डर्स एग्रिमेण्ट’ हस्ताक्षर सम्पन्न भएको छ ।
सम्झौता बमोजिम यी दुवै प्रसारण लाइनहरूको नेपाली खण्ड र भारतीय खण्ड निर्माणका लागि नेपाल र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको सेयर क्रमशः ५१ प्रतिशत रहने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले जानकारी दिएका छन्।
त्यसैगरी, भारतीय खण्डमा निर्माण हुने प्रसारण लाइनमा समेत प्राधिकरणको हिस्सा ४९ प्रतिशत रहनेछ । प्राधिकरणले अहिलेसम्म ११ हजार ४ सय ३३ मेगावाट क्षमताको विद्युत् खरिदबिक्री सम्झौता गरिसकेको छ । जम्मा १२ हजार ६ सय ४६ मेगावाट बराबरको विद्युत् खरिदबिक्रीका लागि आवेदन प्राप्त भएकामध्ये पाँच हजार २ सय ३० मेगावाट क्षमताको ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको छ ।


सपना सिंह







