images

एक्सन प्लान बनाइ बजार अनुगमन गर्न मुख्यसचिव अर्यालको निर्देशन

काठमाडौं । सरकारका मुख्यसचिव एकनारायण अर्यालले एक्सन प्लान बनाइ बजार अनुगमनलाई प्रभावकारी बनाउन ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

चाडपर्वको बेलामा खाद्यान्नमा मिसावट हुने, मूल्य वृद्धि गर्ने र कालोबजारी गर्ने क्रम बढ्ने भन्दै उनले नागरिकलाई ठगिन नदिन एक्सन प्लान बनाएर बजार अनुगमन गर्न सम्पूर्ण प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले स्थानीय तहसँग समन्वय गरेर कुनै पनि हिसाबमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।

उनले भने, ‘उहाँले भन्नुभयो, ‘मेरो अनुरोध के छ भने धेरै ठाउँहरूमा सडकमा खाल्डाखुल्डी छन्, पहिरो आएका छन्, पहिरो पन्छाइएको छैन । बरु चाडपर्व सुरु भइसक्यो । टिकट यस पटक घटस्थापना भन्दा १५ दिन अघिदेखि नै खुलाउनुस् भनेका छौँ । सडकका खाल्डाखुल्डी र पहिरो पन्छाउने काम र यातायात सहजी करणका लागि यातायात व्यवसायीहरूसँग मिलेर पब्लिकलाई कसरी उपभोक्तालाई सहज बनाउन सकिन्छ भनेर यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले हेर्नुपर्छ । अब खाल्डाखुल्डी भयो, गाडी एक्सिडेण्ट भयो, पहिरोका कारण समयमै गाडी पुगेन भने त्यो उपभोक्तालाई मर्का पर्छ । यसलाई निर्देशन भने पनि भन्नुस्, अनुरोध भने पनि भन्नुस्, जसरी स्वीकार गर्नुहुन्छ, यसलाई काम अघि बढाउन अनुरोध गर्न चाहन्छु । यहाँ प्रमुख जिल्ला अधिकारीज्युहरु हुनुहुन्छ । चाडपर्व सुरु भएपछि बजारमा मूल्यवृद्धि, मिसावट सुरु हुने गरेको भन्दै आवश्यक निरीक्षण गर्न निर्देशन दिन्छु । उपत्यकाको मात्रै होइन, ७७ वटै जिल्लाका जिल्ला प्रमुखहरूले स्थानीय तहसँग समन्वय गरेर बजार अनुगमनको एक्सन प्लान बनाउनुस् । कुनै पनि हिसाबमा मिसावट, गुणस्तर नभएको सामान सप्लाइ गर्ने र मूल्यवृद्धि गर्ने कुरा सह्य हुँदैन । कानुनको दायरामा ल्याउनुप¥यो । हामीसँग कालोबजारी ऐन छ, एक्सनमा उत्रिनुस् र काम गर्नुस् । सबै व्यवसायीहरू बेइमानी हुँदैनन् । केही मानिसले गर्दा बदनाम हुन्छ । बेइमान गर्नेलाई छोड्नु हुँदैन, सरकारले पनि छोड्दैन । कारबाहीको दायरामा ल्याउने क्रममा कसैले धम्क्यायो भने मलाई भन्नुहोला, डराउनु पर्दैन । जनतालाई सुशासन दिनुपर्छ । अपराधको नियन्त्रण गर्नुपर्छ । चाडपर्व र यो खालको स्थितिमा, सबै हिसाबले जनता प्रताडित भएको अवस्थामा भाडा बढाउने, मिसावट गर्नेकुरामा सरकारले सहँदैन । तपाईँहरूले बजारको नियमित निरीक्षण गर्नुस् । पर्फमेन्स दिनुपर्छ । कति जना कारबाही गर्नुभयो । त्यो म हेर्न चाहन्छु ।’

जागिर खानका लागि मात्रै कार्यालय आउने र झोला बोकेर नेताहरुकोमा धाउने कामको अन्त्य गर्न पनि आग्रह गरेका छन् ।