
काठमाडौं । नेकपा एमालेले जन वर्गीय संगठनको केन्द्रिय पदाधिकारीको संख्यालाई घटाएर ९ जनामा सिमित गर्ने भएको छ ।
आइतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले जन वर्गीय संगठनको केन्द्रिय पदाधिकारीको संख्या घटाएर ९ मा सिमित गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै पार्टीका महासचिव शंकर पोखरेलले अध्यक्ष एक जना, उपाध्यक्षमा एक जना महिलासहित २ जना, महासचिव एक जना, उपमहासचिव १ जना र सचिवहरुलाई जिम्मेवारी दिनेगरी (प्रचार, विदेश मामिला र संगठन हेर्नेगरी र आर्थिक जिम्मेवारी हेर्नेगरी कोषाध्यक्षको व्यवस्था गर्ने) ९ जना पदाधिकारी रहने बताएका छन् ।
यसैबीच, सत्तारुढ दल नेकपा एमालेले पाथीभरा केबलकार निर्माणका सन्दर्भमा उत्पन्न भएको विवादमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवाला समूहहरुसँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताएको छ ।
पाथीभरा केबलकार निर्माणको विवाद अन्त्य गरी सहज वातावरण बनाउने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको पनि महासचिव पोखरेलले जानकारी दिएका छन् ।