images

‘ए’ डिभिजन लिग : थ्री स्टारलाई २-० ले हराउदै एपीएफ विजयी

काठमाडौं । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजको पहिलो खेलमा विभागीय टोली एपीएफ क्लबले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो ।

एपीएफको जितमा मणि कुमार लामा र अर्मान्ड बिडोमले एक एक गोल गरे ।

खेलको ७२ औं मिनेटमा मणिले फ्रिकिकमार्फत गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए । मणिको फ्रिकिक बल थ्री स्टारका गोलकिपर अरुण ब्लोनले समात्न खोज्दा पोस्टको जाली चुमेको थियो ।

त्यसपछि खेलको ८६ औं मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए ।

जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ । थ्री स्टारले भने हारबाट लिगको सुरुआत गरेको छ ।

त्यस्तै आजै दशरथ रंगशालामै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र शेर्पाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।