images

‘ए’ डिभिजन लिग : मछिन्द्रको पहिलो जित, पुलिस अंक बिहिन

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लबले पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराउँदै मछिन्द्रले पहिलो जित निकालेको हो ।

मछिन्द्रको जितमा डेब्यु खेलाडी आफिज ओलावालेले दुई गोल गरे । पुलिसका अन्जन राईले एक गोल गरे ।

खेलको नवौं मिनेटमा अन्जनले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । रबि पासवानको क्रसमा अन्जनले हेडरमार्फत गोल गरे ।

तर, खेलको २० औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई १-१ गोलको बराबरीमा ल्याए । अविशेक गुरुङको प्रहार पुलिसका गोलकिपर संजित श्रेष्ठले रोकेपछि आएको रिबाउन्डमा ओलावालेले गोल गरे ।

त्यसपछि खेलको ४० औं मिनेटमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २-१ को जित दिलाए ।

युता सुजुकीले क्रस गरेको बल नियन्त्रणमा लिदै पुलिसका गोलकिपर संजितलाई बिट गर्दै ओलावालेले गोल गरे । ओलावाले म्यान अफ द म्याच चुनिए ।

खेलको १७ औं मिनेटमा मछिन्द्रका अविशेक गुरुङको क्रसमा विमल घर्तिमगरको हेडर गोलपोस्टमा लाग्दै बाहिरिएको थियो । ३० औं मिनेटमा मछिन्द्रका ओमोलाजा करिमको फ्रिकिक पुलिसका गोलकिपर संजितले सहजै आफ्नो नियन्त्रणमा लिए ।

खेलको ४३ औं मिनेटमा मछिन्द्रका अविशेक गुरुङको क्रसमा ओलावालेको हेडर पुलिसका गोलकिपर संजितले मुश्किलले जोगाए ।

खेलको ५५ औं मिनेटमा पुलिसका सन्तोष हेमरुनको पेनाल्टी क्षेत्र भन्दा बाहिरबाटको सशक्त प्रहार पोस्टको केहि माथिबाट बाहिरिएको थियो ।

६९ औं मिनेटमा मछिन्द्रका सौरभ लिम्बुले तीन डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको बलले पोस्टको दिशा लिन सकेन ।

खेलको ७१ औं मिनेटमा मछिन्द्रका बिमल घर्तिमगरको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।

८५ औं मिनेटमा पुलिसका प्रताब गुरुङको फ्रिकिक बलमा अन्जनले हेड गर्न सकेनन् । खेलको ८९ औं मिनेटमा मछिन्द्रका शौरभ लिम्बुको सशक्त प्रहार पुलिसका गोलकिपर संजितले मुश्किलले बचाए ।

 जितसँगै मछिन्द्रले ४ खेलमा ४ अंक जोडेको छ । मछिन्द्र ११ औं स्थानमा उक्लिएको छ । पुछारमा रहेको पुलिसको यो लगातार चौंथो हार हो । पुलिसले ४ खेलमा अंक जोड्ने सकेको छैन ।