
सुर्खेत । कर्णाली प्रदेशमा चाडपर्वहरू नजिकिएसँगै सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना अन्तर्गत विशेष सुरक्षा योजना लागू गरिएको छ । यो योजना विशेष गरी दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी तयार पारिएको हो, जसको मुख्य उद्देश्य यस अवधिमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रणमा लिनु र सडक दुर्घटनाहरूलाई न्यूनीकरण गर्नु रहेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालका अनुसार खनालले चाडपर्वको समयमा हुन सक्ने कुनै पनि आपराधिक गतिविधिलाई रोक्नु रहेको छ । आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन र समग्र कर्णालीमा शान्ति, सुरक्षा र अमनचयन कायम गराउन प्रतिबद्ध रहेका प्रदेश प्रह्ीले जनाएको छ । विगत तीन आर्थिक वर्षको अवधिमा कर्णालीमा दसैँ–तिहार लगायतका चाडपर्वका समयमा देखिएका सुरक्षा चुनौतीहरूलाई सूक्ष्म विश्लेषण गरी यस वर्षको सुरक्षा रणनीति तय गरिएको छ ।
विगतका वर्षहरूमा चाडपर्वका समयमा चोरी, लुटपाट, झै–झगडा, जुवातास, हत्या, बलात्कार र सडक दुर्घटनाहरू बढी भएको तत्थ्यांक रहेको छ, यस्ता घटनाहरूको पुनरावृत्ति हुन नदिन विशेष सतर्कता अपनाइएको छ ।
गएको २३–२४ भदौको जेनजी समूहको आन्दोलनबाट शान्ति सुरक्षामा प्रतिकूल प्रभाव परेकाले चाडपर्वमा थप सुरक्षा जोखिम बढ्न सक्ने आँकलन प्रहरीको छ । देशका विभिन्न प्रहरी कार्यालयबाट लुटपाट भएका हातहतियार, गोलीगठ्ठाको दुरुपयोग तथा विभिन्न कारागारबाट फरार आपराधिक पृष्ठभूमिका कैदीबन्दीहरू चाडपर्वको समयमा घर पुग्न सक्ने भएकाले कर्णालीका १० वटै जिल्लामा प्रहरीको छुट्टै युनिट बनाएर सुरक्षा रणनीति तयार गरिएको प्रहरीको दाबी छ ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभरि ३,९०८ प्रहरी जनशक्ति परिचालन गरिएको छ । सुरक्षालाई बहुआयामिक बनाउन विभिन्न प्रकारका गस्ती र जाँचलाई तीव्रता दिइएको छ । जसमा ५३ वटा मोबाइल गस्ती, ११२ वटा मोटरसाइकल गस्ती, ९२ वटा क्यूआरटी (द्रुत प्रतिकार्य टोली) परिचालन र १७८ वटा पैदल गस्ती समावेश छन्। यसका अतिरिक्त, २० वटा लामो तथा छोटो दुरीका प्रहरी गस्तीसमेत परिचालन गरिएका छन् ।
सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाउनका लागि १३० स्थानमा जाँचस्थल राखिएको छ भने, ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक जाँच भइरहेको प्रदेश प्रहरीले जनाएको छ। ट्राफिक व्यवस्थापन र सवारी आवागमनलाई व्यवस्थित तथा सुरक्षित बनाउनका लागि ७५ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ परिचालन गरिएको छ ।