images

कांग्रेसलाई बिग्रन नदिने गगन थापाको दृढता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसलाई बिग्रन नदिने जिकिर गरेका छन् ।

सोमबार नेपाली कांग्रेस चितवनले आयोजना गरेको ‘जननायक बिपी कोइरालाको १११औँ जन्म जयन्तीको अवसरमा विशेष सम्मान’ कार्यक्रममा उनले कांग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताएका हुन् ।

‘घरमा केही फोहर देखिएको थियो, त्यसलाई सफा गर्छौँ । बिग्रन लागेको घर हामी समाल्छौँ,’ उनले भने ।

महामन्त्री थापाले पछिल्ला समयमा कांग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठबन्धन गरेको र अब विचारको आधारमा अगाडि बढ्ने विश्वास दिलाएका छन् ।

निर्वाचन जित्नु र सरकार बनाउनुलाई प्राथमिकतामा नराखी कांग्रेसको विचारलाई गाउँ गाउँसम्म पुर्‍याउन आवश्यक रहेकामा उनले जोड दिए ।

‘अबका निर्वाचनमा कांग्रेसलाई एक्लै लड्न सक्ने गरी सङ्गठनलाई सुदृढ बनाएर अघि बढ्नुपर्ने छ । गठबन्धनको राजनीति राम्रो नभएको बुझेर नै केन्द्रीय समितिले निर्णय लिएको छ । त्यसैले एक पटक सबैले आफूलाई सच्याउने सङ्कल्प लिएर अघि बढौँ,’ महामन्त्री थापाले भने ।

उनले केन्द्रीय समितिको बैठकबाट कांग्रेस शुद्धीकरणको बाटोमा अघि बढेको समेत बताएका छन् ।