images

कांग्रेसले लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाइमा छु: रवि लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसले आफूमाथि लगाएको आरोपको जवाफ दिने मौकाको पर्खाइमा रहेको बताएका छन् ।
शुक्रवार सहकारी ठगीमा मुछिएको अभियोग लगाउँदै कांग्रेसले सदन अवरुद्ध पारेपछि उनले सञ्चारकर्मीमाझ आफूमाथि उठाएका सबै आरोपको जवाफ मौका पाउनसाथ सदनमा दिने बताएका हुन् । संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका लामिछानेले सदनमा मौका पाउने बित्तिकै आफूमाथि उठेको प्रश्नसहित कांग्रेसलाई ९ मिनेट १८ सकेण्ड पढाउने इच्छा रहेको जिकिर गरेका छन् । उपप्रधानमन्त्री लामिछानेले आफूले सुशासनको पक्षमा काम गर्दै जाने र त्यसो गर्दा जसले राजीनामा मागे पनि नेपाली जनताले दिएको म्यान्डेटको शक्तिमा काम गरिरहने बताए । उनले सुन तस्करीमा संलग्न जो कोहीलाई कारबाही हुने र त्यसको प्रक्रिया आजैबाट सुरु गरिएको पनि बताएका छन् ।
उपप्रधानमन्त्री लामिछानेले भने, ‘भित्र त संसद् बैठक कांग्रेसले अवरुद्ध गरेजस्तो देखिएको थियो । यहाँ आई पुग्दा हामीले गरेजस्तो देखियो । हामीले गरेनौँ । यो उहाँहरूलाई लागेको हो । केही छैन उहाँहरूले भन्नुभयो । संसद्मा विधेयक नै प्रस्तुत गर्न नदिने, कानून नै बनाउन नदिने भने त के गर्न सकिन्छ र । जवाफ दिनका लागि तयार नै छु । जवाफ सुनेपछि उहाँहरू बेहोस हुने हो कि थाहा छैन। कानुन बनाउने प्रक्रिया त रोक्नु भएन नि । कुन कुरा सडकमा गर्ने, कुन कुरा सदनमा गर्ने भन्ने कुरा नेपाली काँग्रेस जस्तो इतिहास बोकेको लोकतान्त्रिक दललाई भर्खरै आएको दलले पढाउन सुहाउँछ ? हामी पडाउँदैनौँ । कांग्रेसले आफैँ पढोस् । डेढ वर्ष अघि आएको पार्टीले यो सिकियो । हामीले सदन चल्न दियौ । प्रश्न सोध्यौँ, प्रश्नको जवाफ चाहिन्छ भन्यौँ । अब मैले संसद्मा समय पाएपछि नेपाली कांग्रेसले उठाएको कुरा के रहेछ, त्यसको वास्तविकता के रहेछ ? म राम्रोसँग बताई दिन्छु । अनुसन्धानमा कुनै प्रभाव हुन दिन्न । कसैसँग सम्झौता हुँदैन । सुशासनको कुरामा यो, ऊ, सानो माछा होस, भ्यागुता होस् । त्यसमा कुनै पनि किसिमको कम्प्रमाईज हुँदैन । त्यस कारणले हामी त्यसमा लागि परेका छौँ । बाँकी मलाई विश्वास छ काँग्रेस जस्तो लोकतान्त्रिक दलले सदनमा विधेयक नै प्रस्तुत गर्न नदिने भनेजस्तो कुरालाई निरन्तरता दिनै छैन । र, के विषय उठाएको छ । त्यसको मेरिट के हो, त्यो कहाँ उठिएको छ, त्यो के हो, कस्तो उजुरी हो ? कसले गराएको हो, कहा छ, के छ ? त्यति कुरा चाहिँ एक पटक सदनमा मौका पाए भने नेपाली कांग्रेसलाई पढाउने इच्छा छ नौ मिटे १८ सेकेन्डमा ।’
उपप्रधानमन्त्री लामिछानेले सुन तस्करीमा संलग्नहरूले कसैले पनि उन्मुक्ति नपाउने पनि दाबी गरेका छन् ।