
काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडीको आवतजावत तीन दिनका लागि बन्द गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना निकालेर बाढी र पहिरोको पूर्वानुमान रहेकाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडीको आवतजावत आजदेखि सोमवारसम्मका लागि बन्द गरेको जानकारी गराएको हो ।
भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने वाढी, पहिरो र डुबान तथा त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडी आवतजावत असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको प्राधिकरणको सूचनामा उल्लेख छ ।
यस अवधिमा यातायात व्यवसायी लगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडी नचलाउन आग्रह गरेको छ । साथै, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले पनि गाडी आवतजावत बन्द गर्न प्राधिकरणले आग्रह गरेको छ ।