images

काम गर्न सरकारमा पुगेका प्रधानमन्त्रीदेखि मन्त्रीसम्म भाषणबाजी मै सीमित !

काठमाडौं । कार्यपालिका अर्थात् सरकार काम गर्ने थलो हो । तर त्यही सरकारमा नेतृत्व गरिरहेका प्रधानमन्त्रीदेखि मन्त्रीसम्म काम गर्ने भन्दा पनि बोल्नेतर्फ बढी केन्द्रित छन् । सरकारले जनतालाई प्रभावकारी रूपमा डेलिभरी दिन नसकेको आलोचना भइरहेका बेला सरकारका मन्त्री, प्रधानमन्त्रीले देश नै कायापलट गर्नेसम्मको कुरा गर्न भ्याएका छन् । काम गर्न नसकेका मन्त्रीहरूले सरकारको योजना भाषण मै सीमित राखेपछि जनतामा दिनप्रतिदिन निराशा छाइरहेको छ ।

नेपालीमा एउटा उखान छ, करायो करायो दक्षिणा हरायो । यो भनाई नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री र सरकारमा सहभागी माननीय मन्त्रीहरूमा चरितार्थ हुन्छ । खास गरी सरकारमा सहभागी मन्त्रीहरूको काम बढी, कुरा कम हुनुपर्थ्यो तर विडम्बना कुरा बढी काम कम छ । मन्त्रीहरू बेहिसाब बोल्ने बानीको पटक–पटक आलोचना समेत हुने गरेको छ । तर चाहे प्रधानमन्त्री हुन् या मन्त्री, राज्यमन्त्री नै किन नहुन् । उनीहरूको भाषण सुन्दा लाग्छ देश छिनभरमै कायापलट हुन्छ ।

भाद्र २ गते आइतबार । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टी नेकपा एमाले निकट खेलकुद महासङ्घको केन्द्रीय कमिटीको बैठकलाई ललितपुर पुगे । जनताले रोटीदेखि रोजगारसम्मको अभावले छटपटाइरहेको बेला ओलीले त्यस कार्यक्रममा राजनीतिदेखि खेलकुदसम्म विकासदेखि समृद्धिसम्मको कुरा गर्न भ्याए ।

प्रधानमन्त्री ओली क्याबिनेटमा सहभागी उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको भाषण कला आकर्षक नै छ । उपप्रधानमन्त्री सिंहले सोमबार नेवा: सम्पर्क समूह, रामेछापले आयोजना गरेको एक कार्यक्रममा बोल्दै वर्तमान सरकार गठनको औचित्य बताए । सरकार गठनको १ महिना बितिसक्दा काममा ध्यान दिनुपर्ने विषयलाई थाती राखेर उनले अझै पनि कांग्रेस–एमाले गठबन्धनको औचित्य बुझाइरहेका छन् ।

रमेश लेखक गृह मन्त्रालयको नेतृत्वमा छन् । समन्वय र सहमति जुटाउन निकै लचक देखिएका लेखक पनि भाषण कलामा अघि नै छन् । गृहमन्त्री लेखक पनि सरकार गठनको औचित्य प्रस्टाउँदै हिँडिरहेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन मन्त्रालयको नेतृत्वमा आएको केही समय मै दुई ठुला हवाई दुर्घटना भइसक्यो । हवाई सुरक्षा, संस्कृतिदेखि पर्यटनसम्मका क्षेत्र सुधार गर्नुपर्ने दायित्व उनको काँधमा छ । तर मन्त्री पाण्डे पनि राजनीति पेचिलो अवस्थामा रहेको भन्दै हिँडिरहेका छन् ।

पहिलो पटक मन्त्री बन्दा वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका मन्त्री ऐनबहादुर शाही ठकुरीले कार्यकाल सुरु भएको दिनदेखि कुनै सम्झन लायक काम गरेका छैनन् । तर शाही पनि भाषणबाजी रमाइरहेका छन् ।

यसरी प्रधानमन्त्रीदेखि मन्त्रीसम्म भाषणबाजी मै व्यस्त छन् । कामबाट जवाफ दिनुपर्ने ठाउँमा मन्त्रीहरू बिना काम बेतुकको भाषण मात्र गरिरहेका छन् । मन्त्रीहरूको यस्तो प्रवृत्तिमाथि पटक पटक सडकदेखि सदनसम्म प्रश्न उठ्ने गरेको छ । सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनको विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिन अघि व्यवस्थापिका संसद्मा प्रश्न उठाए ।

यसरी सरकार काम गर्नेभन्दा पनि बोल्ने ठाउँ बनिरहेको छ । युवाहरू रोजगार अभावमा हरेक दिन विदेशिरहेका छन् । शिक्षा, स्वास्थ्यदेखि प्रशासनसम्मका क्षेत्रमा कयौँ समस्या छन् । तर, काम गर्ने ठाउँमा पुगेका मन्त्री प्रधानमन्त्रीहरूलाई त्यसप्रति खासै चिन्तित देखिँदैन ।