images

कृषि निर्देशनालयका निमित्त प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाको भवन निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेल, सहकारीका अध्यक्ष हरिलाल खनालसहित ८ जनालाई प्रतिवादी बनाइ विषेश अदालतमा मुद्दा दायर गरेको हो ।

कृषि निर्देशनालयबाट अनुदान प्राप्त गरी भवन निर्माणको लागि विनियोजित बजेट हिनामिना गरेको, एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएर अर्को ठाउँमा भवन बनाएको, मापदण्ड मिचेको लगायतका अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

जसअनुसार अनुदानको २८ लाख ३७ हजार २१७ रुपैयाँ भुक्तानी गरेर सम्झौता विपरीतका कार्यहरू गरेको र सरकारी सम्पत्ति हानिनोक्सानी हुने गरी कार्य गरेको देखिँदा जनही सोही रकम बिगो कायम गरेर विशेष अदालतमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।