images

खडेरी सुरु, बढ्न थाले वन डढेलोका घटना (भिडियोसहित) 

काठमाडौं । हिउँदे वर्षा नभएको लामो समय भयो । यो मौसममा पानी नपरेर खडेरी लागिरहेको छ । जसका कारण वनमा डढेलो लाग्ने जोखिम बढ्दै गएको छ । डढेलोका कारण वायुमण्डललाई त प्रदूषित बनाउँछ नै कतिपय मानवबस्ती नै जोखिममा पर्छन् । त्यसबाहेक पारिस्थितिक प्रणालीमा पनि उत्तिकै असर गर्ने गरेको छ । तर यसको नियन्त्रणका लागि संघदेखि स्थानीय सरकारसँग न पर्याप्त योजना नै छ, न बजेट नै ।

वन तथा भू–संरक्षण विभागको तथ्याङ्क अनुसार गत माघ महिनामा २०० वटा बन डढेलोको घटना भए, जसमा ७६ वटा डढेलो त राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा भए । फागुन महिनाको १५ गतेसम्मको तथ्याङ्क अनुसार जम्मा ४६ स्थानमा बन डढेलोको घटना भए । जसमा २२ वटा डढेलो त राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रमा भए । यो केवल डेढ महिनाको तथ्याङ्क हेर्दा अब गर्मी झन् बढ्ने र हावा चल्ने चैत वैशाखको समयमा यो संख्या ह्वात्तै बढ्नेमा दुई मत छैन । खासगरी बनजङ्गलमा डढेलो लाग्दा त्यसले मानवबस्तीलाई जोखिम पुर्‍याउनुका साथै समग्र पारिस्थितिक प्रणालीमा पनि असर गर्ने गरेको छ । नेपालमा प्रतिवर्ष तीन हजारभन्दा बढी डढेलोका घटना हुने गरेका र प्रतिघटनामा सरदर छ हेक्टर वन क्षेत्र प्रभावित भएको पाइएको छ । नेपालमा ६५ प्रतिशत वन डढेलो अप्रिल महिनामा लाग्ने गरेको छ । डढेलो लाग्नुको मुख्य कारण मानवीय त्रुटि नै मुख्य कारक भएको वन तथा भू–संरक्षण विभागकी सूचना अधिकारी सबनम पाठकको भनाइ छ । त्यसबाहेक वन व्यवस्थापन हुन नसक्नु, वनमा ज्वलनशील पदार्थ अधिक जम्मा हुनु, खेतीयोग्य जमिन बाँझो रहनु, लापरबाही, अन्जान वा नियतवश आगो लगाउनुलगायत छन् ।

वन डढेलो नियन्त्रणमा प्रयोग गर्नुपर्ने विशेष किसिमको औजार तथा सामग्री, अग्नि नियन्त्रक टोलीले लगाउने पोशाक, उच्च प्रेसरको पम्प, पानी ट्याङ्की, ट्याक्टर वा पिकअपले तान्ने ट्रलीलगायत उपकरणको अभाव पनि छ । जसले गर्दा लागिसकेको डढेलो समयमा नियन्त्रण गर्न मुस्किल परिरहेको छ । डढेलोले वन्यजन्तु, बोटबिरुवा, वनस्पति, जडीबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन ।

त्यसो त विभागमा बन डढेलोसम्बन्धी जानकारी दिने प्रणाली पनि राखिएको छ । त्यसबाहेक हरेक जिल्लामा फोकल पर्सन राखेर सम्भावित ठाउँको विषयमा विभागले समयमा जानकारी पनि गराउने गरेको छ । यद्यपि त्यसबाट पनि प्रभावकारी रूपमा जानकारी सम्प्रेषण हुन सकेको छैन । त्यस्तै स्थानीय स्तरमा जनचेतनाको अभावका कारण पनि डढेलोले ठुलो रूप लिएपछि मात्र निभाउन जाने गरेको जस्तो देखिन्छ ।

नेपालमा वन विनाश र क्षयीकरण हुनुमा डढेलो प्रमुख कारण मानिन्छ । हरेक वर्ष हुँदै आएको डढेलोको प्रकोपबाट ठूलो मात्रामा प्राकृतिक तथा मानवीय क्षति हुने गरेको छ । यसको न्यूनीकरण र नियन्त्रणको लागि घरदैलो अभियानमार्फत जनचेतना फैलाउने, संरक्षित क्षेत्रस्तरमा जिम्मेवार कर्मचारी र नेपाली सेनाको टोली परिचालन गर्ने, सामाजिक सञ्जाल, समुदाय र शैक्षिक संस्थाहरूमा डढेलोसम्बन्धी विविध सचेतनाका कार्यक्रम प्रचार गर्न सकेमा प्रभावकारी हुने देखिन्छ ।