images

गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ : महानगर प्रमुख बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले महानगरपालिकाले कानुन कार्यान्वयन गर्न खोज्दा जनता उचाल्ने काम भइरहेको आरोप लगाएका छन् ।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले काठमाडौँका नदी किनाराका बस्ती हटाउन महानगरले पहल अघि बढाउँदा जनता उचाल्ने काम भइरहेको आरोप लगाएका हुन् । मेयर शाहले खोलाको मापदण्डको कानुन आफैँ बनाउने तर, त्यसलाई कार्यान्वयन गर्न खोज्दा जनता उचालेर महानगरपालिकाको नेतृत्वको विरोध गर्ने काम बन्द गर्न पनि आग्रह गरेका छन् ।

‘खोलाको मापदण्ड र कानुन आफैँ बनाउने, आफैँ सहभागी भएको परिषददेखि न्यायाधीश आउने । सरकार आफ्नै। कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै’, बालेनले लेखेका छन्, ‘अनि, भएको कानुन र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौं महानगरलाई? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।’

उनले काठमाडौँ महानगरलाई गाली गरेर न्याय नपाइँने पनि तर्क गरेका छन् ।

‘तपाईंहरू न्याय खोज्नुहुन्छ भने काठमाडौं महानगरलाई गाली गरेर तपाईंले न्याय पाउनुहुन्न। तपाईंकै नेतालाई प्रश्न गर्नु होला, यस्तो कानुन किन बनाइस् भनेर । निकास दे भनेर आफ्नै नेतालाई भन्नुहोला’, उनले भनेका छन् ।

साथै बालेनले नयाँ मापदण्ड अनुसार बनेका काठमाडौं महानगर अन्तर्गत पर्ने कुनै पनि घर नभत्किने बताएका छन् । यस्ता घर भत्काउनै परे सरकारले मुअब्जा दिनुपर्ने उनको भनाइ छ ।