images

गोरखा मिडिया नेटवर्कले लिएको ऋणको जिम्मा आफूले नलिने रविको बयान 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले गोरखा मिडिया नेटवर्कमा सहकारीबाट आएको ऋणको जिम्मा लिन आफू बाध्य नहुने बताएका छन् ।
शुक्रवार सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिमा बयान दिँदै उनले आफूले गोरखा मिडिया नेटवर्कमा कुनै लगानी नगरेको भन्दै १५ प्रतिशत ‘स्वेट सेयर’ लिएको बयानको क्रममा बताएका हुन् । लामिछानेले समितिमा बयान दिँदै आफूले मिडियामा एक रुपैयाँ पनि लगानी नगरेको दाबी गरेका छन् ।
बयानको क्रममा लामिछानेले आफू कुनै पनि सहकारी सदस्य नभएको भन्दै सहकारीको ऋणको विषयमा जिम्मा लिन नसक्ने बताएका छन् ।
यता, समितिले लामिछानेलाई बयानका लागि दर्जनौँ प्रश्न तयार पारेको थियो । समितिले लिने बयानको पहिलो नम्बरमा आफ्ना नामसहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण, परिवारका कोको सदस्य छन् ? तपाईँको शारीरिक अवस्था कस्तो छ ? सोधिएको प्रश्नको उत्तर दिन सक्नुहुन्छ ? लगायतका प्रश्न समेटिएका थिए ।
समितिले तयार पारेको १६ नम्बरको प्रश्नमा सुप्रिम सहकारीबाट छविलाल जोशीको नाममा २ करोड ५० लाख ऋण खडा गरी गोरखा मिडिया नेटवर्कको नाममा व्यक्तिको नाममा ऋण खडा गरेर कम्पनीमा पठाउन मिल्छ ? भन्ने प्रश्न सोधिएको छ । यसअघि समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिएको थियो ।
गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई भने अझै फरार छन् । उनीहरूले ग्यालेक्सी टिभी सञ्चालनका लागि विभिन्न सहकारीबाट पैसा ल्याएर अपचलन गरेको आरोप छ ।