images

घटेन ओलीको अहम्ता, देउवाले देखाएको लोकतान्त्रिक चरित्र

काठमाडौंः नेपालका दुई अनुभवी नेता, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच जीवनका धेरै पाना समान छन् । लामो जेलजीवन, दशकौंको राजनीतिक संघर्ष, सत्ता–राजनीति उतारचढाव, पार्टी विभाजन र एकता, गठबन्धनका असंख्य प्रयोगहरू । उनीहरू कहिले नजिकिए, कहिले टाढिए; तर आजको अवस्थामा भने यी दुई नेताबीचको समानता हराउँदै गएको छ । १४ महिनासम्म सत्ता साझेदारीमा रहेका ओली र देउवा दुवै जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिएका पात्र हुन् । जनताको असन्तुष्टि र सडक विद्रोहले उनीहरू जिम्मेवारीविहीन बनायो । तर, त्यसपछि भएको राजनीतिक घटनाक्रम र उनीहरूको प्रतिक्रिया फरक दिशामा गएको देखिन्छ ।

बुधबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भने, ‘म बिग्रिएको भए पो सप्रिनु । फेसबुकमा लेखेको भरमा राजीनामा दिन्नँ ।’ उनको भाषण कठोर र चुनौतीपूर्ण थियो । सँगसँगै दम्भ र घमण्डले भरिएको । जेनजी आन्दोलनमा मारिएका युवाहरूको नाम नलिँदै उनले केवल ‘२३ र २४ भदौका घटनामा तथा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली’ व्यक्त गरे । यता, मंगलबार बसेको नेपाली कांग्रेसको बैठकमा सभापति देउवाले भने, ‘इतिहासमा आर्जित विश्वसनीयता पुनः पुष्टि गर्ने बेला आएको छ ।’ देउवाले जेनजी प्रदर्शनका क्रममा निर्दोष युवाहरूको ज्यान गएकोप्रति मर्म व्यक्त गरे र सहानुभूतिको भाव देखाए । जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा पहिलोपटक बोलेका ओलीले करुणा होइन, चुनौतीको स्वर अपनाए; देउवाले भने करुणा र जिम्मेवारीको ।

ओलीको बैठकमा उनले बस्ने कुर्सी विशिष्ट र उच्चो थियो, नेतृत्वको प्रतीकजस्तो । कांग्रेस बैठकमा देउवा साधारण कुर्सीमा बसेका थिए । दृश्यात्मक रूपमा पनि दुई नेताको शैली भिन्न थियो । एमाले बैठकमा ओलीले २४ भदौको विध्वंशलाई आक्रोश पोखे । तर, २३ भदौमा राज्यद्वारा भएको दमनबारे मौन रहे । देउवाले भने २३ र २४ दुवै दिनका हिंसात्मक गतिविधिबारे स्पष्ट धारणा राख्दै राज्य र भीड दुवैको आक्रोशको आलोचना गरे । ओलीले बैठकमा स्पष्ट भने, ‘चुनाव हुनेवाला छैन ।’ गैरसंवैधानिक रूपमा दुईपटक प्रतिनिधिसभा विघटन गरेका उनी अहिलेको राजनीतिक वैधतालाई स्वीकार्न तयार देखिँदैनन् । देउवाको पार्टीले पनि संसद् विघटनको विषय सहजतापूर्वक स्वीकार गरेको छैन, तर कांग्रेस बैठकले आगामी २१ फागुनमा हुने भनिएको निर्वाचनका लागि तयारी गर्न निर्देशन दिइसकेको छ ।
ओलीले एमाले विधान आफैंलाई अनुकूल बनाउँदै दुई कार्यकालको सीमा र ७० वर्ष उमेर सीमा हटाएका छन् । देउवाले भने आफ्नो दोस्रो कार्यकाल औपचारिक रूपमा समाप्त नभइसके पनि स्वास्थ्य र संगठनात्मक कारण देखाउँदै पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिए । एमालेभित्र योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरूले ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव दिए पनि उनले त्यसलाई फेसबुकको कुरा भन्दै उपेक्षा गरेका छन् । देउवाले असहमति राख्ने महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माप्रति संयम देखाए, कारबाहीको बाटो लिएनन् ।

बैठकमा ओलीले लामो समयपछि कमरेड सम्बोधन प्रयोग गरे र वर्गशत्रु, दुस्मन जस्ता कम्युनिस्ट शब्दावली उच्चारण गरे । उनले आन्दोलनकै बाटो रोज्ने घोषणा गरे । देउवाले भने आफ्नो वक्तव्यमा लोकतान्त्रिक संवादको पक्षपोषण गर्दै, ‘अब विचार नमिल्ने पार्टीहरूसँग पनि कांग्रेसले सार्थक संवाद गर्नेछ’ भन्ने दृष्टिकोण प्रस्तुत गरे । उनले सरकार लोकतान्त्रिक शक्तिसँग संवाद गर्न असफल भएको भन्दै त्यो जिम्मेवारी अब कांग्रेसले लिनुपर्ने बताए ।
केपी ओली र शेरबहादुर देउवा दुवै नेपालका लामो राजनीतिक यात्रा पार परेका पात्र हुन् । उनीहरू नेपालको राजनीतिक इतिहासका साक्षीसमेत हुन् । तर आज उनीहरूका बाटा फरक दिशातिर मोडिएका छन् । ओली आन्दोलन र अस्वीकारतिर, देउवा संवाद र जिम्मेवारीतिर । यसर्थ अब नेपालको राजनीतिक भविष्य कुन बाटोमा जान्छ ? ओलीको कठोरता वा देउवाको संयम ? त्यो समयले नै निर्धारण गर्नेछ ।