काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियार माओवादी केन्द्रका नेता जनार्दन शर्माको टिमसँग जोडिएका छन् । दल दर्ताको तयारीसमेत गरिएको छ ।
जनार्दन र सुदन किराँती लगायत माओवादीबाट नेपाली कम्युनिष्ट पार्टीमा नगएका नेताहरूले नयाँ दल खोल्न लागेका हुन् । यस दलमा सन्तोष परियार पनि महत्त्वपूर्ण जिम्मेवारीमा रहनेछन् । माओवादी केन्द्र विघटनपछि जनार्दनले प्रगतिशील अभियान नेपालको घोषणा गरेका थिए । यो अभियानमा माओवादीका सुदन किराँती, राम कार्की लगायत नेताहरू छन् । यो टिमसँग विवेकशील पार्टीकी रञ्जु दर्शना पनि संवादमा छिन् । यस्तै, डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि जोडिनसक्ने बुझिएको छ ।
स्रोतका अनुसार परियार केही समयदेखि जनार्दनको टिमसँग संवादमा थिए । रास्वपामा सीमित नेताहरूलाई उनी पार्टी छोड्दैछन् भन्ने थाहा थियो । अरूका लागि भने परियारको निर्णय सरप्राइजका रूपमा आएको छ ।
परियारले आफ्नो राजीनामा पत्रमा पार्टीप्रति कुनै असन्तुष्टि पोखेका छैनन् । ‘नयाँ अभियान सुरु गर्नुपर्ने भएकाले’ आफू रास्वपामा रहन नसक्ने उनको राजीनामा पत्रमा उल्लेख छ ।


स्पेस समाचार







