images

जीबी राईसहित १७ जना विरुद्ध मुद्दा दर्ता, साढे ३७ करोड अपचलन गरेको आरोप

काठमाडौं । सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) विरुद्ध अर्को मुद्दा दर्ता भएको छ ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा जिल्ला अदालत कास्कीमा ठगी मुद्दा विचाराधीन रहेकै बेला जिल्ला अदालत चितवनमा पनि अर्को मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत दर्ता गरेको मुद्दामा सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका चार सय ४६ जना बचतकर्ताको साढे ३७ करोड रुपैयाँ अपचलन गरेको आरोपमा छ । मुद्दामा संस्थापक अध्यक्ष जीबीसहित १७ जनालाई प्रतिवादी बनाइएको छ । मुद्दा दायर गरिएकामध्ये कुमार रम्तेल मात्रै पक्राउ परेका छन् । अन्यलाई फरार सूचीमा राखिएको छ ।

सहारा सहकारीबाट पनि गोरखा मिडिया नेटवर्क प्रालीमा तीन करोड ५० लाख रुपैयाँ लगिएको पाइएको छ । बचतकर्ताले भने १० करोड ८० लाख १८ हजार एक सय ५१ रुपैयाँ गोरखा मिडियामा गएको बताउँदै आएका अभियोगपत्रमा उल्लेख गरिएको छ ।