images

जेन-जीको भेषमा आपराधिक समूह सक्रिय, प्रधानमन्त्री कार्यालयले दियो चेतावनी

काठमाडौं । भदौ २३ गतेको आन्दोलन र २४ गतेको घटनापछि गठन भएको नागरिक सरकारले लय समाउन नपाउँदै जेनजीको नाममा संगठन खोल्ने र त्यसकै आडमा दबाब र धम्की दिने प्रवृत्ति बढेको छ।

पछिल्लो समय जेन-जी भन्दै केही व्यक्तिले सक्रियता बढाएर उद्योगी व्यवसायी र कर्मचारीलाई धम्की दिन थालेका हुन्। प्रधानमन्त्री सुशीला कार्कीलाई जोडेर चन्दा उठाउने प्रवृत्तिसमेत देखिएको भन्दै प्रधानमन्त्री कार्यालयले कारवाहीको चेतावनी दिएको छ।

कतिसम्म भने आपराधिक गतिविधिमा जोडिएका व्यक्तिसमेत जेन-जीको आवरणमा सरकारी निकायमा जाने र धम्क्याउने गरेको पाइएको छ। यस्ता अराजक क्रियाकलापले कर्मचारी त्रासमा छन् भने उद्योगी व्यवसायीले सरकार गुहार्न थालेका छन्।

पछिल्लो समय जेन-जी भन्दै केही व्यक्तिहरुको सक्रियता बढेको छ। जेन-जीको एउटै आधिकारिक संगठन नभएकाले कुन समूह जेन-जीको हो कुन होइन प्रधानमन्त्रीदेखि सर्वसाधारण हैरान भएका छन्। प्रहरीलाई पनि छुट्याउन मुस्किल छ। जेन-जीका नाममा धेरै किसिमका संगठन बनाउँदै ठाउँअनुसार माग पनि फरक-फरक माग राख्ने बढ्दो छ। केही व्यक्तिका यस्ता क्रियाकलापले सरकारलाई नै अप्ठ्यारोमा पारेको छ।

आफ्ना माग सम्बोधन गर्न जिम्मेवार निकायमा पुग्नुपर्नेमा स्वार्थअनुसारका निकाय वा कार्यालयमा पुग्ने र धम्की दिने गरेको पाइएको छ। जेन-जी आन्दोलनका नाममा एक दर्जन विद्युत् आयोजनामा पुगेर केही व्यक्तिले १० प्रतिशत शेयर माग गरेको सार्वजनिक भइसकेको छ।

आयोजनालाई धम्की दिने र शेयर नदिए बन्द गरिदिने चेतावनी दिएपछि स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इप्पानले त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष पुगेर सुरक्षा प्रत्याभूति माग गरेको थियो।

अख्तियार, वायु सेवा निगम र नागरिक उड्डयन प्राधिकरणमा पुगेर फरक-फरक समूहले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि भन्दै ज्ञापन पत्र बुझाएका छन्। छलफल भन्दै कर्मचारीलाई त्रसित बनाउने र ‘तत्काल राजीनामा देऊ’ भनेर धम्क्याउने प्रवृत्ति समेत देखिएको छ।