images

टीआरसी विधेयक सहमतिका साथ अघि बढेकोमा प्रधानमन्त्रीद्वारा खुसी व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरु बनाउने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको विषय भएको बताए । कानुन समितिले सहमति जुटाएर टीआरसी विधेयक संसदमा पेश गरेको भन्दै उनले सर्वसम्मतिबाट पीडितमैत्री र कुनै करकापमा नपरी सहमतिका साथ यस दस्तावेज अगाडि बढाएको बताए । ऐन बनिसकेपछि यस अन्तरगतका आयोगहरु निर्माण गर्ने उनको भनाइ छ ।

हामी द्वन्द्वलाई शान्ति प्रक्रियामा बदल्न आफ्नै हिसाबले अगाडि बढायौँ । यो मौलिक छ । त्यही कारण सकारात्मक ढङ्गले समाधान हुँदै आएको छ’, ओलीले भने, ‘दुनियाँका लागि नमुनाका रूपमा शान्ति प्रक्रिया टुंग्याउँदैछौँ ।’

प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र त्यही कारण पनि यो सफल भएको टिप्पणी गरे । दुनियाँका लागि पनि नेपालको शान्ति प्रक्रिया नमुना भएको उनको तर्क छ । ओलीले लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि आफू प्रतिबद्ध रहेको पनि बताए ।