काठमाडौं– हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधिका लागि नेपाल आज (बुधवार) पपुवा न्यु गिनी (पीएनजी) सँग भिड्दै छ।
नेपाल र पीएनजीबिचको फाइनल खेल आज बिहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि आजै बिहान हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ । मङ्गलवार खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृङ्खलाको फाइनलमा पुगेको हो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २४ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । त्यसअघि मङ्गलवार नै खेलिएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १६.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रन मात्र बनाउन सकेको थियो ।
नेपाल र पीएनजीबीच हालसम्म पाँचवटा टी–२० आई खेलमा भिडेका छन्। जसमा नेपाल चार र पीएनजीले एक खेलमा विजयी भएका छन्। पीएनजीले सन् २०१५ यता नेपाललाई हराउन सकेको छैन। यी दुई क्रिकेट टिम आसन्न टी–२० विश्वकपको तयारी स्वरूप सिरिजमा सहभागी भएका हुन्। आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने विश्वकपमा नेपाल ‘डी’ तथा पीएनजी ‘सी’ समूहमा छन्।