images

देशका बिभिन्न स्थानमा हिमपात, जनजीवन कष्टकर

काठमाडौं । हुम्लामा मंगलबार बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने हुम्लामा यो वर्ष ढिलो गरी हिउँ परेको हो ।

हुम्ला सदरमुकाम सहित जिल्लाभर हिमपात भइरहेको छ । जिल्लाको माथिल्लो क्षेत्र नाम्खा र सिमकोट गाउँपालिकाका अधिका‌स ठाउँहरुमा दुइ फिट भन्दा धेरै हिउँ जमेको छ भने तल्लो क्षेत्रका अधिका‌स स्थानमा करिब आधा फिट हिउँ जमेको छ ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । बैतडीको खोडपे, अनारखाली, ढोल्यामोड र सिगासलगायतका उच्च लेकाली गए रातिदेखि मौसममा बदली आएसँगै आज बिहानदेखि हिमपात भएको हो ।

यस्तै हिमाली जिल्ला मुगुलगायत कर्णालीका जिल्लाहरुमा वर्षासँगै हिमपात भएको छ । मंगलबार रातिदेखि लगतार हिमपात भएपछि मुगुको जनजीवन प्रभावित भएको छ भने कृषकमा खुसीयाली छाएको छ ।

हिमपातको कारण नेपालगञ्ज, सुर्खेतबाट मुगु आउने हवाइ यातायात र सडकमा चल्ने सवारी साधनहरु रोकिएका छन् । रारा घुम्न आउर्ने आन्तरिक तथा बाह्य पर्यटकहरु निकै समस्यामा परेका छन् ।

विगतका वर्षहरुमा मुगु लगायत कर्णालीका जिल्लामा मंसीर पुसमै हिमपात हुने गर्थ्यो । यसवर्ष भने माघको दोस्रो सातामा मात्रै हिमपात भएको छ ।