images

देश अभिभावकविहीन भयो: अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देश अभिभावकविहीन भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा पार्टीको केन्द्रीय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले देश अभिभावकविहीन भएको टिप्पणी गरेका हुन् । नेपाली जनताको मत पाएर बनेका ठुला राजनीतिक दलहरू नै अस्थिरताको कारक रहेको अध्यक्ष लिङ्देनको भनाइ छ । उनले आफूले पाएको मौकालाई राजनीतिक दलहरूले व्यक्तिगत र पार्टीको जीवन शासनलाई चिरस्थायी बनाउने काममा मात्रै लगाएको आरोप लगाए । उनले नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्ने कुरा सामान्य कुरा नभएको पनि उल्लेख गरेका छन् ।

उनले भने, ‘अहिले देश एक प्रकारले अभिभावक विहीन भएको अवस्थामा छ । नेपाली जनताको मत जसले जसले ठुलो दलको रूपमा प्राप्त गरे, जो अहिले सरकारमा छन् । उनीहरू स्वयं अस्थिरताको कारक छन् । आफूले पाएको मौकालाई आफ्नो व्यक्तिगत जीवन र आफ्नो पार्टीको जीवन र शासनलाई चिरस्थायी बनाउने मौकाको रूपमा उपयोग गर्न खोजिरहेका छन् । सामान्य कुरा होइन की, नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्ने कुरा भनेको सामान्य कुरा होइन । काँग्रेस र कम्युनिष्टहरुले  कस्तो कुराको आँट र परिकल्पना गरिरहेका छन् । राप्रपा जस्तो शक्ति बलियो बनेर नआउने हो भने र जनतालाई अभिभावकत्व प्रदान नगर्ने हो भने देश ठुलो दुर्घटनामा जान्छ ।’

अध्यक्ष लिङदेनले अहिले देश हेर्दा सब ठिकठाक जस्तो लागे पनि भित्रभित्रै देशको परिस्थिति सामान्य नरहेको बताएका छन् ।