images

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिमा अरबौं लेनदेन भएको वर्षमानको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा करोडमा नभई अरबमा लेनदेन भएको आरोप लगाएका छन् ।

पार्टी सम्बद्ध काठमाडौं–दोरम्बा सम्पर्क मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफूले हिम्मतका साथ बिचौलियाको चाहनामा काम नगरेको दावी गरे ।

उनले भने,’धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भएको त्यही हो । प्रधानमन्त्री र मैले बिचौलियाले भनेअनुसार नियुक्ति सरुवा र बढुवा गर्न नमानेका कारण हामीलाई सरकारबाट हटाइयो । हामीले बिचौलियाको हित हुने गरी धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न इन्कार गरेकै हौँ । भ्रष्टाचारविरुद्ध लड्दा सरकारबाट निकालिएका छौँ । यो जनताले बुझेका छन् ।’

देशमा बिचौलियाले नियुक्त गरेका प्रधानमन्त्री र मन्त्री भएका कारण भ्रष्टाचार, अनियमितता र राज्य दोहनको प्रक्रिया तीव्र रूपमा बढेर जाने दाबी पुनले गरे । त्यस्ता प्रवृत्तिविरुद्ध प्रतिपक्षमा बसेर सङ्घर्ष गर्ने नीतिमा आफूहरू रहेको पुनले बताए ।