images

नक्कली शरणार्थी प्रकरणका मुख्य योजनाकार बेचन झालाई थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली शरणार्थी प्रकरणका योजनाकारमध्ये एक बेचन झालाई अदालतले थुनामा पठाउन आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासले आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका झालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएका हुन् । दुवै पक्षको बहसपछि अदालतले बिहीबार झासँग बयान लिएको थियो ।

बयानका क्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए । त्यसै गरी यो प्रकरणमा आफ्नो नाममा दुई करोडको चेक दिएका रामशरण केसीसहितलाई पनि उनले नचिन्ने बयान दिएका थिए ।

यो प्रकरणका अन्य अभियुक्तहरू जेलमा रहे पनि उनी फरार थिए । झालाई असार १४ गते राति कञ्चनपुरबाट पक्राउ गरिएको थियो । झामाथि बिचौलियालाई गृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे लगायत उच्च पदस्थसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप थियो ।

यद्यपि उनले इन्कारी बयान दिए पनि झालाई तत्काललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो । आउनीविरुद्धको मुद्दामा शुक्रवार थुनछेक बहस भएको थियो । तर अदालतले आदेश आइतबार दिएको हो ।

बिहीबार बयानका क्रममा झाले आफू विरुद्ध प्रहरीले खडा गरेको प्रमुख प्रमाणलाई नै इन्कार गरिदिएका थिए । उनले नक्कली शरणार्थी प्रकरणको योजना बनेका बेलामा आफू उपचारका लागि भारतमा रहेको बयान पनि दिएका थिए ।