images

नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार नयाँ आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति पारित गरेसँगै सार्वजनिक गर्न लागिएको हो । बिहान बसेको समितिको बैठकले मौद्रिक नीति पारित गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

पारित मौद्रिक नीति केहीबेरमा अहिले सवा १२ बजे बैंकको नवनिर्मित भवन बालुवाटारबाट सार्वजनिक गर्ने तयारी छ । यसअघि मौद्रिक नीति बैंक परिसरभन्दा बाहिरबाट सार्वजनिक गरिँदै आएको थियो । गएको शुक्रवार नै सार्वजनिक गर्ने तयारी गरिए पनि अन्तिम समयमा आएर स्थगित गरिएको कार्यक्रम आज सार्वजनिक हुने भएको हो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार गरेको छ । बैंकमा लगानीयोग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको हो । अर्थतन्त्र शिथिल बनिरहेको र बैंक तथा वित्तीय संस्थाबाट पूँजी प्रवाह नभइरहेको अवस्थामा मौद्रिक नीतिले कस्तो कार्यदिशा लिन्छ भन्ने आमचासो बनेको छ ।

विशेष गरेर घरजग्गा कारोबार, शेयर कारोबार र बैंकको कर्जा तिर्नका लागि लचिलो मौद्रिक नीति आउनेगरी मस्यौदा तयार भएको छ । अर्थतन्त्र चलायमान हुने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा विज्ञहरूले जोड दिँदै आएका छन् ।