images

नेपालको फिफा महिला वरीयता सुधार, सय स्थानभन्दा तल

काठमाडौं । नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रवार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालले ४ स्थान सुधार गरेको हो । नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा छ । यसअघि नेपाल १ सय ३औं स्थानमा थियो ।

एसियाली राष्ट्रमा १९औं स्थानमा रहेको नेपाल दक्षिण एसियाली (साफ) राष्ट्रमा भने दोस्रो स्थानमा यथावत छ । नेपालले पछिल्लोपटक फागुन १४ घरेलु मैदानमा सम्पन्न फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपमा ४ खेल खेलेको थियो । नेपालले फाइनलसहित म्यानमारसँग २ र लेवनान र किर्गिस्तान रिपब्लिकसँग खेलेको थियो ।

लेबनान र किर्गिस्तान समान १–० ले हराएको नेपालले म्यानमारलाई लिग चरणमा २–२ गोलको बराबरीमा रोक्दा फाइनलमा भने २–० ले पराजित हुन भएको थियो । फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको च्याम्पियन म्यानमार ५५औं स्थानमा यथावत छ । विश्व वरीयतामा ६९औं स्थानमा रहेको भारत दक्षिण एसियामा शीर्षमा छ । एक स्थान सुधार गरेको भुटान १ सय७१औं स्थानमा छ ।

विश्व वरीयतामा शीर्ष चारसम्म कुनै परिवर्तन भएको छैन । अमेरिका शीर्ष स्थानमा यथावत छ । स्पेन, जर्मनी र इंग्ल्यान्ड क्रमशः दोस्रोबाट चौथो स्थानमा यथावत छ । तीन स्थान सुधार गर्दै जापान शीर्ष पाँचमा पुगेको छ । स्विडेन, क्यानडा र ब्राजिल एक स्थान तल झर्दै छैटौं, सातौं र आठौं स्थानमा छ । उत्तर कोरिया नवौं र नेदरल्यान्ड्स शीर्ष १० मा छ ।