images

नेपालमै सिक्का छाप्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमै १ र २ दरका सिक्का छाप्ने आन्तरिक तयारी शुरु गरेको छ ।

बैंकले २०६६ सालदेखि १, २, २५ र २५० दरका नोट छपाई बन्द गरेर १ र २ दरका सिक्का प्रचलनमा ल्याउने निर्णय गरेको थियो । सो अनुसार, हालसम्म २ पटक विदेशमा सिक्का छापेर नेपाल ल्याइसकिएको छ । यस अवधिमा विदेशबाट १ दरका ८२ करोड थान र २ दरका ३२ करोड थान सिक्का छापिएको छ ।

केन्द्रीय बैंकले ४ प्रकारका नोट प्रतिबन्ध लगाएर त्यसको सट्टामा १ र २ मूल्यका सिक्का २०६६ सालमै छापेर ल्याएको थियो । उक्त मितिमा केन्द्रीय बैंकले १ दरका ५२ करोड थान र २ दरका २२ करोड थान सिक्का छपाएको थियो ।

२०६६ सालमा छपाइएपछि २०७८ सालमा पुनः १ दरका ३० करोड र २ दरका १० करोड थान सिक्का छपाइएको छ ।

तर, पटक–पटक ठुलो मात्रामा विदेशमा छपाइएका सिक्काको सहज प्रचलन नहुँदा नेपाली बजारमा आयातदेखि महँगीसम्म बढाएको छ ।

बजारमा सामान किन्न जाँदा फिर्ता पाउनुपर्ने १ वा २ रुपैयाँको सट्टा व्यापारीले सोही मूल्य बराबरका चक्लेट थमाउने गर्छन् ।

जसले आयातित चक्लेट र चुइगमको माग र खपत बढाइदिएको छ । यस्तै, सवारी साधनको अवैज्ञानिक भाडादर कायम हुँदा समेत यात्रु ठगिने गरेका छन् ।