
काठमाडौं । नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मनाएको छ। नेपाली सेनाले टुँडिखेलमा स्थापना दिवससँगै शिवरात्रिको अवसरमा बढाइँ पनि गरेको छ ।
शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भए ।
सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत सांस्कृतिक कार्यक्रम गरिएको छ ।
सेना दिवसका अवसरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल लगायत उपस्थित थिए ।