images

नेपालले एक खेल अगावै गुमायो टी–२० शृङ्खला

काठमाडौं– नेपाल ए सँगको टी–२० आई शृङ्खला आयरल्यान्ड ए ले एक खेल अगावै जितेको छ ।

पहिलो खेल २१ रनले जितेको आयरल्यान्ड ए ले दोस्रो खेलमा शनिवार नेपाली टोलीलाई ४० रनले हरायो । लगातार दोस्रो जितसँगै ३ खेलको शृङ्खलामा आयरल्यान्ड ए ले २–० को अग्रता बनाएको छ । विस्फोटक सुरुवात गरे पनि नेपाली टोलीका मध्य क्रम र तल्लो क्रमका ब्याटर चल्न सकेनन् । २२५ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर ५ बलमा १८४ रन बनाउँदा अलआउट भयो । नेपाललाई ओपनर लोकेश बम र देव खनालले ३ दशमलव १ ओभरमा ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । लोकेश १३ बलमा ३ चौका र २ छक्कासहित २५ रनमा क्याच आउट भए । पहिलो खेलमा लोकेशले १०६ रन बनाएका थिए । दोस्रो विकेटका लागि देव र कप्तान विनोद भण्डारीले ४६ रनको साझेदारी गरे । एक समय नेपाल ६ दशमलव ५ ओभरमा ९३÷१ को अवस्थामा थियो । सातौँ ओभरको पहिलो बलमा विनोद प्वाइन्टमा क्याच आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो । देव खनाल २५ बलमा ७ चौकासहित ४७ रनमा बोल्ड आउट भए । विनोद १३ बलमा १ चौका र ३ छक्कासहित २६ र किरण ठगुन्ना ३ रनमा आउट भए । आरिफ शेख १४, पवन सरार्फ १०, रासिद खान र विपिन खत्री १÷१ रनमा आउट भए । कलम सिंह ऐरी ११ रनमा आउट भए ।

आयरल्यान्डका स्पिनर बेन ह्वाइटले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । फिन ह्यान्ड र थोमस मेयसले २÷२ विकेट लिए । ग्यारेथ डेलानी म्याथ्यु फस्टर १-१ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । आयरल्यान्डको जितमा कप्तान निल रकले सर्वाधिक ७१ रन बनाए । पिटर मुरले ६५ रन बनाउँदा रस आडैर १७, जेम्श म्याकुलम २६, ग्यारेथ डेलानी १० र फिन ह्यान्डले १९ रन बनाए । नेपालका सागर ढकालले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी र पवन सरार्फले १-१ विकेट लिए । अन्तिम टी–२० खेल सोमबार हुनेछ । त्यसपछि तीन खेलको एकदिवसीय शृङ्खला सुरु हुने छ ।