images

पार्टीका सांसदहरूलाई ओलीको निर्देशन: सरकारको आलोचना नगर्नू

काठमाडौं– सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

मङ्गलवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सरकारको बारेमा कुनै आलोचना गर्नुपर्‍यो भने पार्टीको अनुमति लिएर मात्रै गर्न सकिनेतर्फ पनि सिंगो पार्टी पङ्क्तिलाई सचेत गराएका हुन् । अध्यक्ष ओलीले तराईमा डोरीलाई कहिले कहिले सर्प भनेर झुक्किने गरेको दृष्टान्त पेस गर्दै त्यसै गरी सरकारको बारेमा जथाभाबी बोल्दा खेरी राम्रो नहुने बताएका छन् । कुनै पनि मन्त्रालयको काम सन्तोषजनक भएन भने छलफल गरेर त्यसलाई सन्तोषजनक, प्रशंसायोग्य बनाउने कुरामा पार्टीले योगदान दिने कार्य योजना समेत रहेको बताए ।

अध्यक्ष ओलीले भने, ‘म फेरि पनि भन्न चाहन्छु–सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै आलोचना गर्नुपर्‍यो  भने आन्तरिक रूपमा गर्दा हुन्छ । किनभने नबुझीकन कहिले कहिले देख्दा एक चिज देखिन्छ, तर चिज अर्कै भइदिन्छ । कहिले कहिले मान्छे हिँड्दाहिँड्दै तराईतिर खास गरी यस्तो हुन्छ । डोरीको त्यान्द्रो देख्यो भने सर्प रहेछ कि भनेर झसङ्ग हुन्छ । अनि ठम्याएपछि सर्प हुँदैन, डोरी हुन्छ । अनि ढुक्क भएर हिँड्छ । त्यस कारण डोरीलाई सर्पजस्तो ठानेर यसो लामो त्यान्द्रो देखेपछि सर्प हो कि सजग हुनु पथ्र्योंं, झस्किनु पथ्र्यो । झस्केको ठिक छ । तर सर्प भनेर त्यतिखेर भने पनि त्यो नहुन सक्छ । त्यस कारण प्याट्ट प्याट्ट बोलिहाल्दा खेरी कहिले कहिले नराम्रो हुन्छ । त्यस्तो लाग्यो भने छलफलमा ल्याउन सकिन्छ । हामी छलफल गर्न सक्छौ । कुनै पनि मन्त्रालयको काम सन्तोषजनक भएन भने हामी छलफल गर्न सक्छौ । त्यसलाई सन्तोषजनक बनाउने, त्यसलाई प्रशंसायोग्य बनाउने कुरामा हाम्रो योगदान हुन्छ ।’