images

पार्टी शुद्धीकरण अभियान चलाउनुपर्ने माओवादी केन्द्रको निष्कर्ष, प्रचण्डको प्रस्ताव: बृहत् बाम एकता

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय प्रणालीबाट पार्टी प्रदूषित भएको भन्दै शुद्धीकरण अभियान चलाउनुपर्ने निष्कर्ष निकालेको छ ।

शुक्रवार देखि जारी स्थायी कमिटीको शनिवारको बैठकमा अधिकांश नेताहरूले पार्टी शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

आन्दोलनलाई नयाँ ढङ्गले परिभाषित गरेर सञ्चालन गर्नुपर्नेमा नेताहरूले जोड दिएको उनको भनाइ छ । उनले सदन र सडक जोड्ने स्पष्ट नीति, योजना र कार्यक्रमसहित जनतामा जानुपर्ने पनि बताए ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव राखेको पनि प्रवक्ता सापकोटाले जानकारी दिए । अध्यक्ष दाहालले समाजवादी मोर्चासँगै बृहत् वाम एकताका लागि पहल गर्ने प्रस्ताव गरेको उनको भनाइ छ ।

माओवादी केन्द्रले कार्यकारी राष्ट्रपतिको एजेन्डा पनि अघि सार्ने भएको छ । प्रवक्ता सापकोटाले राजनीतिक स्थायित्वका लागि कार्यकारी राष्ट्रपतिको विकल्प नभएको संस्थागत धारणा भएको बताए । उनले प्रदेशमा मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित कार्यकारी हुने विषयमा भने पार्टीमा छलफल नभएको बताए ।