![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2025/02/naya-rajniti.jpg?fit=1568%2C726)
काठमाडौं । नेपालको इतिहास राणाशासन, पञ्चायती शासन र राजा प्रणालीबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा परिवर्तन भएको छ । नेपालको शासन व्यवस्था राणाशासनदेखि पञ्चायती शासन हुँदै गणतन्त्रको अवस्थामा आएको परिवर्तनले देशलाई राजनीतिक स्थिरता, जनताका अधिकार र समावेशिता सुनिश्चित गर्ने दिशा प्रदान गरेको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालका लागि एक ऐतिहासिक कदम हो जसले देशलाई नयाँ विकास र समृद्धिको मार्गमा अघि बढ्न प्रेरित गरेको छ । तर अहिले भने नेपालको राजनीतिक चेतना फरक दिशामा पुगेको छ । नेपाललाई यस अवस्थामा पुर्याउन विभिन्न कालखण्डमा सङ्घर्ष र योगदान गरेका पुराना राजनीतिक दलहरूप्रतिको बुझाई भने कुण्ठा र वितृष्णामा बदलिएको छ । २००८ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि हालसम्म मुलुकको बागडोर सम्हालेका राजनीतिक दलहरूको सत्ता लिप्साले जनतामा निराशा छाएको छ । जताततै दण्डहीनता र भ्रष्टाचार मौलाएको छ ।
देशमा राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक अराजकता बढ्दै गएको छ । केका लागि र कसका लागि गणतन्त्र भनेर प्रश्न पनि उब्जिएको छ । यस्तो अवस्थामा नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको एकथरीको विश्लेषण छ भने अर्काथरीले वैकल्पिक भनेर उदाएकाहरूको परीक्षणबिनै अर्को वैकल्पिकको खोजी गर्नु हतारो हुने तर्क गरिरहेका छन् । हुन् त नेपालमा बेला बखत वैकल्पिक राजनीतिक शक्तिको उदय भने भएकै छ । दश वर्षे सशस्त्र द्वन्द्वबाट उदाएको माओवादी होस् या त्यसबाटै छुट्टिएर बनेको डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) होस् या त गत आम निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा जनमत र नागरिक उन्मुक्ति होस् यी दलहरू नेपालमा वैकल्पिक राजनीतिक दलकै रूपमा उदाएका हुन् । तर दश वर्षे सशस्त्र द्वन्द्वबाट उदाएको माओवादी पटकपटक सत्ताको खेलमा रुमलिँदा वैकल्पिकहरू प्रतिको सोचाई पनि भिन्न हुन थालेको छ । यद्यपि हालसालै मात्र उदाएको रास्वपालाई भने एकपटक परीक्षण गरेर मात्र निक्र्यौल गर्नुपर्ने राजनीतिक विश्लेषकको भनाई छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा उभिने राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन् । उनी कम्युनिस्ट र गरैकम्युनिस्ट विचार अटाउने ’उदारवादी विचारधारा’ भएको पार्टी गठन गर्ने गृहकार्यमा लागेका छन् । यता, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको रोडम्याप नै प्रस्तुत गरेका छन् । उनले ’नयाँ युगको नयाँ कार्यभार: वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव प्रस्तुत गरेका छन् । अहिलेको अवस्थामा पुराना दललाई बाईबाई गर्दै नयाँ दलहरूको सहकार्य आवश्यक रहेको उनी बताउँछन् ।
उनले यसो भनिरहँदा विश्लेषकहरू भने नेपालमा वैकल्पिक शक्ति बन्ने उद्देश्यले उदाएका विभिन्न दलहरूले पुराना दलहरूको जस्तो संरचना र कार्यशैली अपनाउँदा जनताको विश्वास जित्न कठिनाइ भइरहेको तर्क गर्छन् । उनीहरूले नयाँ दलहरूको वास्तविकता र सम्भावनाबारे प्रश्न उठाएका छन् ।
नेपालमा नयाँ दलहरूले आफूलाई वैकल्पिक राजनीतिक दलको रूपमा दाबा त गर्दै आए तर त्यो अनुरूपको बाटोमा आफूलाई हिँडाउन नसक्दा जुन जोगी आएपनि कानै चिरेका भन्ने उखान जस्तै हुनु परेको छ । अतः नयाँ दलहरूले वैकल्पिक राजनीतिक शक्ति बन्न वर्तमान युग सुहाउँदो काम गर्दै स्पष्ट विचारधारा, सङ्गठनात्मक संरचना र जनताको विश्वास जित्न आवश्यक छ ।