
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए ।
लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । अर्थमन्त्री पौडेल निकट स्रोतका अनुसार उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । अर्थमन्त्री पौडेल र मेयर आचार्यको अनुहारको भाग जलेको थियो ।
आज पोखरा भ्रमण वर्ष घोषणा समारोहका प्रमुख अतिथि अर्थमन्त्री विष्णुप्रसाद पौडेल बेलुन उडाएर कार्यक्रम उद्घाटन गर्दा घाइते भएका हुन् । पोखरा प्रदर्शनी केन्द्रमा पौडेलले समारोह उद्घाटन स्वरूप बेलुनको झुत्तो उडाउन लागेका थिए । झुत्तो पोखराका मेयर धनराज आचार्यले मन्त्री पौडेललाई हस्तान्तर गर्दा गर्दै नजिकै झिलझिल बालिएको आगोले टिपेको थियो । त्यही आगोले बेलुनको झुत्तो पड्किएको हो ।
बेलुनको झुत्तो पड्किँदा अर्थमन्त्री पौडेल र मेयर स्वयंलाई पनि सामान्य चोट लागेको हो । गालामा आगोले चोट पुगेपछि मन्त्री पौडेललाई उद्घाटन समारोहबाट मेयर आचार्यले नै अस्पतालमा पुर्याएका थिए । प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष घोषणा समारोह भने जारी छ ।
अर्थमन्त्रीको सचिवालयले पोखरा भ्रमण वर्ष घोषणा समारोह उद्घाटनका क्रममा प्राविधिक समस्याका कारण भएको घटनामा परी पौडेलको स्वास्थ्यमा केही असर परेको जनाएको छ ।