images

प्रचण्ड भन्छन्ः जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य साबित भइसक्यो 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भन्ने भ्रम असत्य साबित भइसकेको बताएका छन् ।

पार्टी फुट्छ कि भन्ने कहीँ न कहीँ आशङ्काको तुवाँलो लागेको भए पनि त्यो तुवाँलो पार्टी भित्रको छलफलपछि हटेको र त्यो भ्रम चिरिएको उनको दाबी छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूले भने कहिल्यै पनि शर्माले पार्टी फुटाउँछन् भनेर नसोचेको जिकिर गरे । प्रतिक्रियावादीहरू आफ्नो पार्टी टुटाउन लागिपरेको आरोप समेत उनको छ ।

यसअघि, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफू सधैँ पार्टी नेतृत्वको पक्षमा उभिएको बताएका थिए । उनले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी हेडक्वार्टरबाट आएको जिकिर गर्दै अध्यक्ष दाहाल आफैँले त्यसको सार्वजनिक रूपमा खण्डन गर्नुपर्ने माग गरेका थिए ।

उपमहासचिव शर्माले आफूमाथि पार्टी भित्रैबाट मनोगत रूपमा विभिन्न आरोप लाग्ने गरे पनि आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताको पक्षमा काम गरिरहेको दाबी गरेका छन् ।