images

प्रचण्ड सरकारको अर्थमन्त्री बन्लान् गगन थापा ? 

काठमाडौं। सरकार गठन भएको एक वर्ष नबित्दै सरकारको मन्त्रीपरिषद्को सेट नै परिवर्तन गर्ने भन्ने बारे हल्ला चलिरहेको छ । गत पुस १० गते नेकपा एमाले सहितको सहमतीमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएको थियो । 

प्रतिनिधि सभाको निर्वाचन २०७९ लोकतान्त्रिक बाम गठबन्धनसँग तालमेल गरिएको थियो। तर सरकार गठनका क्रममा नेपाली काँग्रेसका सभापतिले पहिलो सरकारको नेतृत्व काँग्रेसले गर्न पाउनुपर्ने अडान राखेका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्व सहमतिको उलङ्घन गरेको भन्दै देउवाको साथ छोड्दै नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितको समर्थनमा सरकार गठन गरेका थिए । 

तर नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएसँगै नेकपा एमाले प्रधानमन्त्री प्रचण्डसँग तर्सिएको थियो। सभामुख एमाले र उपसभामुख रास्वपालाई दिँदा समेत एमालेले राष्ट्रपतिमा समेत आँखा गाडेपछि प्रचण्ड एमालेको त्यो सर्त मान्न तयार भएन । तत्पश्चात् राष्ट्रपति काँग्रेसलाई बनाउन माओवादी तयार भएसँगै एमाले प्रचण्ड नेतृत्वसँगै चिढिँदै सरकारबाट बाहिरिएको थियो । त्यो भन्दा अगावै राप्रपा र रास्वपाले समेत सरकार छोडिसकेका थिए। हाल माओवादी, काँग्रेस, एकीकृत समाजवादी, लोसपा लगायतको संयुक्त सरकार रहेको छ ।

मन्त्रीमण्डलको सेट नै परिवर्तन हुने

सरकार गठन भएको एक वर्ष नपुग्दै प्रचण्ड नेतृत्वको सरकार पूर्नगठन हुने भएको छ । मन्त्रीपरिषद्को सेट नै परिवर्तन गर्नेमा प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेर बहादुर देउवाबिच लगभग सहमति भइसकेको स्रोतले जनाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफू हिरो बन्न सत्तारुढ गठबन्धनभित्रकै प्रभावशाली व्यक्तिहरू पनि जेल हालेको वा फसाएको भन्दै  श्रेष्ठको कार्यशैली प्रति आक्रामक बनेको थियो । खास गरी पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा राखेको प्रति काँग्रेस सभापति शेर बहादुर देउवा चिढिँदै आएका थिए। त्यसको बदलमा सभापति देउवाले गृहमन्त्रीलाई तत्काल हटाउन भन्दै प्रचण्डमाथि दबाब दिँदै आइरहेका थिए । त्यस विषयमा सत्तारुढ दलको बैठकमा समेत देउवाले नोकझोक गरेका थिए ।

एका तिर प्रचण्ड नेतृत्वको २५ सदस्यीय मन्त्रीको कार्यसम्पादन एकदमै कमजोर देखिएको छ। धेरै मन्त्री त गुमनाम नै भएका छन्। विदेश भ्रमण गर्ने र आफ्नो दुनो सोझ्याउनेमा नै उनीहरू तल्लीन छन्। कार्यसम्पादन कमजोर भएको निहुँ बनाएर मन्त्रीको सेट नै परिवर्तन गर्ने गृहकार्य अहिले भइरहेको छ। प्रधानमन्त्री प्रचण्डलाई समेत यो कुरामा चित्त नबुझेको र अरूलाई पनि भागबन्डा मिलाउनु पर्ने भएकाले मन्त्रीमण्डल नै बदल्नु पर्नेमा देउवा प्रचण्ड सहमति नजिक पुगेको स्रोतको भनाई रहेको छ। 

अर्थमन्त्रीमा थापाको चर्चा

 काँग्रेस भित्रको लामो समयदेखि आन्तरिक कलह जारी छ। काँग्रेस भित्र संस्थापन इतर समूहबाट सरकारमा दुई जना मन्त्रीहरू समावेश छन्। तर ती मन्त्रीहरूले समेत स्वतन्त्र पूर्वक काम गर्न नपाएको भन्दै गुनासो समेत गरिरहेका छन्। अर्थमन्त्री डा प्रकाश शरण महतसँग बजेट विनियोजनदेखि नै काँग्रेसका सांसदहरू सन्तुष्ट हुन नसक्दा उनकाेआलोचना हुँदै आएको थियो। 

डा प्रकाशशरण महत लगायतका कांग्रेसबाट मन्त्री भएकाहरूको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमै चर्को आलोचना समेत भएको थियो। सभापति देउवासँग संसदीय दलको सभापतिमा प्रतिस्पर्धा गरेका गगन थापा पार्टी र सरकारको आलोचनात्मक टिप्पणी गर्दै आएका थिए। तर देउवाले उनको आलोचनाबाट जोगिनका लागि अर्थमन्त्री बनाएर कतै चुप लगाउन खोजेका त होइनन् ? गगन कार्ड देउवाका लागि कत्तिको उत्तम हुन्छ ? भन्ने लगायतका कोणबाट पनि चर्चा भइरहेको छ। थापालाई अर्थमन्त्री बनाउने विषयमा मोटामोटी सहमति बनेको भए पनि थापाको सचिवालयले भने, पहिला मन्त्रीको सेट परिवर्तन नभएसम्म त्याे सम्भव नभएको स्पेस समाचारलाई जानकारी दिएको छ ।