images

फेसबुकले गर्यो २ बर्षपछि अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको निलम्बन फुकुवा

एजेन्सी । फेसबुक र इन्स्टाग्राम सञ्चालन गर्ने प्रविधि कम्पनी मेटाले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निलम्बन फुकुवा गर्ने घोषणा गरेको छ ।

यो घोषणासँगै ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्किन पाउने भएको छ । मेटाका अनुसार दुई वर्ष अगाडि गरिएको निलम्बन आउँदो हप्ता समाप्त हुनेछ । मेटाका उच्च अधिकारी निक क्लेगले नागरिकले उनीहरुका राजनीतिज्ञहरूले के भनिरहेका छन् भन्ने जान्न पाउनुपर्ने बताउएका छन् ।

सन् २०२१ मा अमेरिकी संसद् भवन क्यापिटलमा दङ्गा भएपछि ट्रम्पलाई फेसबुक र इन्स्टाग्रामबाट अनिश्चितकालका लागि निलम्बन गरिएको थियो ।

ट्रम्पको सामाजिक सञ्जाल खाताको समीक्षा गर्दा त्यसले अब सार्वजनिक सुरक्षामा गम्भीर जोखिम नपर्ने देखिएकोे छ । तर ट्रम्पले विगतमा गरेका गल्ती पुनः गरेमा थप कारबाही हुनसक्ने जनाएको छ ।

नियम उल्लङ्घन गरेको भन्दै ट्विटरले पनि ट्रम्पलाई सन् २०२१ को जनवरी ६ तारिखमा भएको घटनापछि प्रतिबन्ध लगाएको थियो । तर गएको नोभेम्बरमा ट्विटरमा लगानीकर्ता इलोन मस्कले ट्रम्पको खातामा लगाइएको रोक हटाइएको बताएको थियो । तर ट्रम्प अहिलेसम्म ट्विटरमा फर्किएका छैन ।