images

बागमतीमा कांग्रेस नेतृत्वमा सरकार गठन, को हुन् मुख्यमन्त्री बनेका लामा ?

काठमाडौं । संघीयता कार्यान्वयन पश्चात बागमती प्रदेशमा पहिलो पटक कांग्रेस नेतृत्वमा सरकार गठन भएको छ ।

केन्द्रमा समीकरण फेरिएपछि एमालको समर्थनमा कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् । मंगलबार मुख्यमन्त्री नियुक्त भए पनि शपथ भने बुधबार मात्र हुने जनाइएको छ । बागमतीमा कांग्रेस र एमालेबीच बाँकी कार्यकालका लागि आलोपालो सरकरको नेतृत्व गर्ने सहमति भएको छ ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि बाग्मती प्रदेशमा नयाँ सरकार गठन भएको हो । योसँगै संघीयता कार्यान्वयन पछि बाग्मतीमा पहिलो पटक कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ ।

लामाले मंगलबार नै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । बाग्मती प्रदेशमा पाँचौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका लामाको शपथ भने बुधबार बिहान ११ बजे हुने तय भएको छ ।

लामाले बुधबार नै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषदलाई एकै पटक पूर्णता दिने तयारी गरेका छन् । एमालेले ६ मन्त्रीको टुंगो लगाइसकेको छ भने कांग्रेसमा आकांक्षी धेरै भएकाले मन्त्री छनोटमा कठिनाइ भएको जनाइएको छ ।

को हुन् लामा ?
२०२७ कात्तिक ८ गते नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा जन्मिएका लामा तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति पनि बनेका छन् । लामाले गाउँकै विद्यालयबाट निमावि, सदरमुकाम बिदुरबाट एसएलसी तथा काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातक सम्मको शिक्षा हासिल गरेका छन् ।

२०४३ सालदेखि कांग्रेसको भातृ संघ नेपाल विद्यार्थी संघको सदस्य लिएका उनले नेविसंघ शंकरदेव क्याम्पस इकाई सदस्य, २०४५ मा नुवाकोटमा नेविसंघको क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै कांग्रेस राजनीतिमा अगाडि बढेका थिए । लामा २०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोट तत्कालीन मनकामना गाविस अध्यक्षमा निर्वाचित भएका थिए । उनी कांग्रेसको १३ औं महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य निर्वाचित भए भने त्यसपछि १४ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित भए ।

२०६४ सालमा नुवाकोट क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा पराजित भएका उनी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा माओवादी नेता पोष्टबहादुर बोगटीलाई हराएर संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए । २०७४ सालमा प्रतिनिधिसभा सदस्य तथा २०७९ सालमा बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । लामा बागमती प्रदेश संसदीय दलको चुनावमा इन्द्रबहादुर बानियाँलाई पराजित गरेर दलको नेता निर्वाचित भएका थिए । २०८० चैत २६ गते सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी छोटो समयमै मुख्यमन्त्री बनेर सरकारमा फर्किएका छन् ।