काठमाडौं–बाजुरामा एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको बडीमालिका नगरपालिका–६ कोर्ध घर भएकी ३० वर्षीया सीमा बडुवालको जिल्ला अस्पताल बाजुराबाट उद्धार गरिएको हो ।
बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जनाएका छन् ।
गिरीका अनुसार गर्भवती महिलाले बच्चा पाउने समय भन्दा बढी भएको र बच्चाको टाउको पाठेघरमा अड्किएपछि महिलाको ज्यान जोखिममा भएकाले रिफर गरिएको बताए । अस्पतालले अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा गृह मन्त्रालयलाई पत्राचारपछि नेपाली सेनाको एन ए ९ को हेलिकप्टरमा उद्धार गरिएको हो ।
मगलबार मात्रै हेलिकोप्टर नआउँदा एक हुम्ला घर भएकी एक सुत्केरी महिलाले बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा अकालमै ज्यान गुमाएकी थिइन् ।