images

बालेनलक्षित ओलीको टिप्पणीः ‘एउटा केटो निस्कियो, मनपरी बोल्छ, त्यसलाई चलाउन हुँदैन है’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनको कटाक्ष गरेका छन्।

शनिबार स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मेयर बालेनको नाम नलिइ ‘एउटा केटो’ भन्दै कटाक्ष गरेका हुन् ।

प्रधानमन्त्री ओली र नेकपा एमालेप्रति आक्रामक देखिँदै आएका बालेनप्रति कटाक्ष गर्दै ओलीले कार्यकर्ताहरूलाई मैदानमा उत्रन समेत आग्रह गरेका छन्।

‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ। त्यसलाई चाहिँ चलाउन हुँदैन है, त्यसलाई चलाउन हुँदैन। त्यो सँग जनमत छ। नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ, नचाहिने प्रचारहरू स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ,’ ओलीले भने।

साथै, उनले मैदानमा निक्लिएर आफूसँग भएका सबै अस्त्र प्रयोग गर्न पनि कार्यकर्तालाई निर्देशन दिए।

‘देखिसक्यौँ नि हामीले, बोक्नेले त बोकेकै छ। बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोकेर यतापट्टिबाट गोली हानेर मृग मार्‍यो भने, बोकेका बिरालाले मृग मार्‍यो भन्दै चलाइन्छ। त्यसकारण हामी भ्रमणबाट मुक्त हुनुपर्छ,’ ओलीले भने।