काठमाडौं । बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सन् २०२१ जनवरी ६ को भाषणका केही भागहरू एकसाथ जोडिएको ‘पानोरामा’ एपिसोडका लागि माफी मागेको छ । यद्दपि बीबीसीले क्षतिपूर्ति दिनुपर्ने ट्रम्पको मागलाई भने अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी संसद् भवनमा आक्रमण भएको दिन ट्रम्पले गरेको भाषण सही ढङ्गले सम्पादन नगरी प्रसारण गरिएकोप्रति बीबीसीले औपचारिक रूपमा क्षमायाचना गरेको हो । बीबीसीले भिडियो सम्पादनहरूले राष्ट्रपति ट्रम्पले प्रत्यक्ष रूपमा हिंसात्मक कारबाहीको लागि आह्वान गरेको गलत धारणा सिर्जना गरेको बताएको छ । यस्तै बीबीसीले सन् २०२४ को कार्यक्रम फेरि प्रसारण नगर्ने पनि बताएको छ ।
बीबीसीले आफ्नो बयान फिर्ता नलिएसम्म, क्षमायाचना नगरेसम्म र क्षतिपूर्ति नदिएसमम एक अर्ब डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गर्ने ट्रम्पका वकिलहरूले धम्की दिँदै आएका छन् । यो विवादका कारण आइतवार बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले पदबाट राजीनामा दिइसकेका छन् ।
सन् २०२२ मा ‘न्यूजनाइट’ कार्यक्रममा यही प्रकृतिले सम्पादन गरिएको क्लिप प्रसारण भएको भनी द डेली टेलिग्राफ पत्रिकाले प्रकाशमा ल्याएको केही घण्टापछि बीबीसीको क्षमायाचना आएको हो ।


स्पेस समाचार







