काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदैछ । उहाँको अन्तिम संस्कार नयाँ दिल्लीको निगमबोध घाटमा हुने भारतको गृह मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यद्यपि विपक्षी दल कंग्रेसले सिंहको अन्त्येष्टि र श्रद्धाञ्जलीका लागि उपयुक्त ठाउँको माग गरेको छ । अहिले कांग्रेससहित अन्य दलले सरकारको यो निर्णयको विरोध गरिरहेका छन् । तर गृह मन्त्रालयले मनमोहन सिंहको स्मारक निर्माण गर्न अनुमति दिएको खबरमा उल्लेख छ । सिंहको अस्ति बिहीवार राति ९२ वर्षको उमेरमा निधन भएको हो । उहाँको निधनमा सरकारले हिजो सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको थियो । उहाँ भारतको शीर्ष पदमा पुग्ने पहिलो शिखसमेत हुनुहुन्थ्यो ।
सन् २००४ देखि २०१४ सम्म प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएका सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय भएको हो । शोक आउँदो जनवरी १ तारिखसम्म मनाइनेछ । त्यस्तै राष्ट्रिय झण्डा आधा झुकाइनेछ । मनमोहन सिंहलाई आर्थिक उदारीकरणका शिल्पकार मानिन्थ्यो । सिंहले कर कटौती, रुपैयाँको अवमूल्यन, राज्यद्वारा सञ्चालित कम्पनीहरूलाई निजीकरण र विदेशी लगानीलाई प्रोत्साहन गर्ने काम गर्नुभएको थियो । यही कारण अर्थतन्त्रमा सुधार देखा पर्दै उद्योगहरूको तीव्र वृद्धि भएको थियो ।