images

मन्त्री अधिकारीको आरोप: बैङ्कको ऋण सहकारीमा राखेर ब्याज खानेहरू नै आन्दोलनमा छन् 

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैङ्कबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरूले आन्दोलन गरेको आरोप लगाएका छन्।
बुधवार काठमाडौंमा सहकारी पत्रकार समाजको १४ औँ स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्।
उनले बढी ब्याज खान खोज्नेहरूले नै सहरकारी पीडितहरूको अगुवाइ गरेर आन्दोलन गरिरहेको उल्लेख गरे। उनले सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताए ।
उनले  कसैले स्वार्थ पूरा गर्न लागेका सहकारी देखाएर सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजिएको दाबी गरे।
उनले भने,‘एक थरी आफूसँग धेरै भएको सम्पत्ति सहकारीमा राख्ने र अर्को थरी बैङ्कबाट कम ब्याजमा पैसा लिने र सहकारीमा बढी ब्याजमा राख्नेबीचको मुनाफा खाइराख्ने त्यस्ता खाले पनि छन्। अहिले सहकारीमा आन्दोलन गर्नेहरू त्यस्तै मात्रै छन्। आन्दोलनको नेतृत्व गर्नेहरूले पीडितहरूसँग फाइदा लिन पनि पाउने भए। अर्को थरी उद्देश्य पूरा छ भन्नेछन्।’
मन्त्री अधिकारीले सरकारले सहकारीका समस्या समाधानको लागि सहकारी अगुवा र पीडित जनताका सुझाव लिएर काम अघि बढाइरहेको दाबी गरे। उनले सरकारले आन्दोलनरत सहकारी पीडितसँग भएको ८ बुँदे सहमतिमा सरकारले ७ वटा काम थालनी गरेको बताए।
सहकारीको समस्या समाधान गर्न पीडित बचतकर्ता र सहकारीका अगुवासँग छलफल गरिरहेको उनको भनाई छ।
उनले सहमति भएकामध्ये आयोग गठन गर्ने काम सरकारले गरेको भन्दै अर्को आयोग गठन गर्न कानुनी रूपमा समस्या भएको बताए।
मन्त्री अधिकारीले सरकारले गठन गरेको सहकारी समस्या समाधान गर्ने समितिमा आन्दोलनरतले छुट्टै प्रतिनिधि खोजेको भन्दै ३१ हजार सहकारीका प्रतिनिधि राख्न नसकिने जिकिर गरे।
उनले सहकारीमा अहिलेको समस्या आउनु भन्दा पहिला नै ७ वटा भन्दा बढी सहरकारीहरूमा समस्या परेको भन्दै आफू मन्त्री भएर आएपछि जम्मा २ वटा सहकारी संस्था मात्रै समस्याग्रस्त घोषणा गरेको बताएका छन्।