images

मेलम्ची बाढी पहिरोले प्रति परिवार ७० लाखको क्षति पुगेको प्रतिवेदन सार्वजनिक

काठमाडौं– २०७८ साल असारमा आएको बाढीपहिरोले मेलम्ची र हेलम्बुमा प्रतिपरिवार ७० लाख रुपैयाँ बराबरको क्षति पुगेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

अनुसन्धानकर्ता विनोदप्रसाद पराजुली मंगलबार एक कार्यक्रमका बिच अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हुन् । अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरुले जीविको-पार्जनका लागि लिएको बैंकको ऋणलाई समावेस गरेर निष्कर्ष निकालिएको उनले जानकारी दिए ।

मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्यांक र पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी करिव ७० लाख बराबरको आर्थिक हानि, नोक्शानी भएको देखाएको अनुसन्धानकर्ता पराजुलीले जानकारी दिए । अध्ययनले समुदायमा मनोसामाजिक समस्या पनि देखाएको छ ।

वातावरणविद् प्रविणमान सिंहले यो अनुसन्धान जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको बताए । मेलम्ची नगरपालिकाले सो क्षेत्रमा करिव ६५ अर्ब बराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरेको थियो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले मेलम्चीमा बाढी आएलगत्तै आफूहरुले घरधुरीको आधारमा राहत दिएको र पुनर्निर्माणको कामलाई तिब्रता दिएको बताए ।